
काठमाडौं, असार २९ । पल्सर स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोर्टस् अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन बुधबार सार्वजनिक भएको हो ।
पुरुषतर्फ फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, र तेक्वान्दोका वीरवहादुर महरा मनोनयनमा परेका छन् ।
महिलातर्फ जुडोकी फुपूल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरीका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दीकी रेजिना कार्की छन् ।
त्यस्तै, वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरीका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अञ्जन विष्ट र क्रिकेटका सन्दीप लामिछाने परेका छन् ।
यसैगरी, प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ र क्रिकेटका जगत टमाटा मनोनयनमा परेका छन् ।
२०७२ सालभरमा गरेको प्रदर्शनका आधारमा खेलाडी तथा प्रशिक्षक मनोनयन गरिएको छनोट समितिले जनाएको छ ।
यसअघि मञ्चले पिपल्स च्वाइस अवार्डका लागि पाँचजनाको नाम सार्वजनिक गरेको थियो ।
साउन ६ गते हुने पुरस्कार वितरण कार्यक्रममा अरु तीन विधा पारा एथ्लिट, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड भने मञ्चले सीधै घोषणा गर्नेछ ।
वर्षको उत्कृष्ट खेलाडीद्धय र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दा अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ हासिल गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्