
पेशल आचार्य –
‘डा. गोविन्द केसीको सत्याग्रहले कसकसको होश हवास खुस्काउने हो ? अब कोको बर्बराउने हुन् ? देशका लागि डा. केसी, केसीका लागि सारा नेपाली जनता’ यो भनाइ फेसबुकमा पोष्ट भैरहँदा एकाएक लाइक, कमेन्ट र सेयरको सुनामी थामी नसक्नु देखिएको छ । पाठक महोदय ! म डा. गोविन्दलाई दोहोरो गरी चिन्दिनँ । आजसम्म आमनेसामने देखभेट भएको छैन । तर मेरो विवेकले के भन्छ भने यो संसार एक्लै हिँड्ने र फरक सोच भएका मान्छेले बनाएका हुन् । सरकारी एक अड्डाले डा.केसीलाई ‘मानसिक रोगी’ को फत्तुर जारी गर्यो । डा. केसी पनि अख्तियार प्रमुख लोकमान कार्कीलाई संसदबाट महाभियोग लगाउनु पर्ने मागसहित थप ३ वटा बुँदा राखी अनसनमा छन् । जनता निचाल भई हेर्दैछन् को हो मानसिक रोगी र को हो खाँटी समाज परिवर्तनकारी ?
‘लाखौं माइलको यात्रा एक पाइलाबाट सुरू हुन्छ ।’ दार्शनिकहरूले त्यसै भनेका होइनन् । बुझ्ने, आधाउधी बुझ्ने र नबुझ्ने सप्पै नेपाली जनताले के चाहिँ प्रष्ट बुझेका छन् भने डा. गोविन्दले आफ्नो व्यक्तिगत जीवन र खुसी कहिल्यै भनेन । बिहे गरेन, बिहे नगरेपछि ऊ स्वास्नी छोराछोरीका लागि हुनेनहुने बाटामा लागेर ‘पेपर मनी’ जम्मा गर्ने टन्टैमा परेन । डाक्टरीलाई बगरे पेसा बनाएन । ‘उठ जोगी फड्कार छाला, जहाँ जाला उही खाला’ स्टायलमा महामारीका पछि हुरुरुरु दौडियो । आफूकहाँ बिरामी भई आउने मरिजको पकेट हेरेन बरू स्टेथेस्कोपले कमिजको गोजीमुनि देब्रेतिर भएको रोगी मुटु, सोही सरहद् वरिपरिको फोक्सो र मिर्गौला चेकअप गरिदियो । तन्नम र हरिकङ्गाललाई आफ्नै पैसामा उपचार गरेर निको तुल्याई गाडी भाडा समेत हाल्देर घर पठायो । ‘केसी भर्सेज भ्रष्टाचार’ सतहमा आएको मुद्दा हो । यहाँ बाहिर नआएका धेरै इस्यूहरू सतहभित्रै एकर्कामा टकराब गरिरहेका छन् । ती सबै एकएक बाहिर आउनु पर्छ ।
प्रखर संक्रमणबाट गुज्रिरहेको छ –नेपाल । गएको २० वर्षमा अकल्पनीय परिवर्तन नयाँ पुस्ताले भोग्न पायो । महिलाहरू राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीशमा पाउने देश संभवत विश्वकै पहिलो मुलुक हुन सक्छ । राजतन्त्र पत्तासाफ भएर संघीय लोकतान्त्रिक गणतन्त्र आयो । शिक्षा, स्वास्थ्य, कृषि र सञ्चारमा प्रविधिले नसोचेको फड्को मार्यो । नेपालीले संसार देख्यो, भोग्यो र छाम्यो । ऊ क्षणपलमा विश्वलाई हेर्दैछ । नेपाली नपुगेका संसारका कुनै देश रहेनन् । संसारमै नेपालीले नसोचेको दुःखसुख सबै पाएको छ । गिनिजमा कैंयौं नेपाली नाम आए । कति विश्व हिरो भए । यी सकारात्मक सूचकका साथै के नेपाल सामान्य नागरिकका लागि जीवन जिउनलायक देश बनेको छ त ? सवाल यो हो ।
अहिलेको सवाल डा. केसी र च्रष्टाचार कस्ले जित्छ कस्ले हार्छ भन्ने हुँदै होइन । नेपालीले समानता र न्याय खोजेका हुन् । जनताले सुशासन र शासनमा सहभागिता मागेका हुन् । संघीयता, बहुलवाद र विधिको शासन रोजेका हुन् । के यी कम्पोनेन्ट्हरू नेपाली शासनमा आए ? नेपाली नयाँ शासकहरू त्यस्ता विशेषताहरू नयाँ सिष्टममा राख्न काबिल भए त ? कुरोको चुरो यही हो ।
जनताले सिष्टम चाहे । व्यक्ति होइन । व्यक्ति आउँछ÷जान्छ । सिष्टम रहिरहन्छ । यो मानेमा डा.गोविन्द प्रवृत्ति सिष्टमका लागि लडेकाले उसले सर्वत्र साथ पायो । सिष्टम माग्नु केसीको गल्ती हो भने हिप्पोक्रेटसले बनाएको ‘मेडिकल इथिक्स’ नेपालमा थोत्रियो । गरिबका सन्तान दिमाग र इच्छाशक्ति भरमा डाक्टरी पढ्न नपाउने भए । केसी एकलव्य भई स्वतःस्फूर्त बाढीपैरो, हैजाका महामारी र भूकम्पले थिल्थिलो पारेका जगाजगामा गएर भोकभोकै नेपाली दाजुभाइलाई निःशुल्क उपचार सेवा दिने डाक्टरमा चर्चित छन् ।
लिनुदिनु केही छैन । चिकित्सामा रहेको बेथितिलाई जरैदेखि उखेल्न अनेकन विरोध गर्छन् । राजनीतिक शक्तिकेन्द्र भँजाएर ‘मेडिकल कलेजका पसल’ खोली डाक्टरी प्रमाणपत्र बेच्ने प्रवृत्ति विरुद्ध चेतना फैल्याउँछन् । मेडिकल शिक्षामा लागेका तमाम मुच्का र धमिरा साफ गर्न लोकतन्त्रको दवाव ‘अनसन’ लाई ‘बेगन’ का रूपमा प्रयोग गरी शिक्षण अस्पतालको चिसो भुइँमा निष्ठा र इमान देखाउँदै रूपमा एक्ला तर सारमा करोडौं जनताको साथ पाई सामूहिक लडाइँ लडिरहेका छन् ।
हामी कता लाग्ने भन्दा पनि थिति कस्तो आउँछ भन्ने हो ? यो विधि र पावर, लोकतन्त्र र स्वेच्छाचार विरुद्धको समूल समर हो । गोविन्दका पक्ष र विपक्षमा माहोल तातेको छ । नेपाली जनता उनको समर्थनमा मेडिकल माफिया पत्तासाफ भएका देख्न चाहन्छन् । गोविन्दको मुख्य तारो भ्रष्टाचार मार्फत् बेथिति हो तर डा.केसीले आँकेझैँ नेपालको बेथिति लर्तरा छैनन् । उनी सिनमा व्यक्ति र अनसिनमा प्रवृत्ति हुन् । रूपमा व्यक्ति र सारमा प्रवृत्ति भएको शक्तिसँग लड्नु कुहिनोले पहरोसँग जोरी खोज्नुजस्तै भएको छ । तर परिवर्तन सम्भव छ । लडाइँ एक्लैले गरे पनि साथ करोडौंको पाएपछि संसार निहुरिन्छ र एकदिन गल्ती स्वीकार्छ । इतिहासले सो दृष्टान्त देखाएको छ ।
मिडियामा केसी सानदार रूपमा दिग्विजय पर्वत आरोहण गरिरहेका छन् । सरकार वाचाल छ । आठौं पल्टको यो आन्दोलनले नेपालको ‘समग्र स्वास्थ्य नीतिलाई वार कि पार’ गर्ने अपेक्षा नेपालीले राखेका छन् । अब हेर्नु छ केही हप्तामा आकास खसेन भने डा. केसीको अन्तर्यमा रहेका सपना साकार हुनेछन् । या उनलाई पूरै राज्य लागेर हराउने छ । यदि सो भयो भने अनर्थ हुनेछ । पूरै मिहिनेतकश जनताका मनबाटै विश्वासको पहाडमा पहिरो जाने छ । घुमाउरो पाराले मसल्स र माइन्ड पावरको युद्ध मेडिकल इसुमा आएर छेडियो । कलम र तरबारको बहस फेरि आरम्भ भयो । एकातिर समाजमा डा.केसीजस्तो आस्था र विश्वास भएका न्याय, समानतामा विश्वास राख्नेहरू छन् भने अर्कातिर लोकतन्त्रलाई भँजाइ खाइपल्केका नयाँनयाँ पाखण्डका मेखाला लगाएकाहरू पनि समाजमा बग्रेल्ती छन् ।
लोकतन्त्रलाई नमःनमः गर्दैै सर्वशक्तिमान् भएका विविध भ्रष्टहरू जो बलशाली सुशासनको पेटारो फुकाएरै शासनारूढ देखिन्छन् । हेर्नु छ यो न्याय र समानताको लडाइँमा जीत कसको हुन्छ ? केसी विजयी बने भने त लोकतन्त्रको प्राणमा ज्यान त भरिएला तर साम, दाम, दण्ड र भेद् प्रयोग गरी केसीको आन्दोलन तुहाइयो भने त्यही क्षणदेखि लोकतन्त्र ओरालो लाग्ने निश्चित छ । मागको अर्को एक बुँदाले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेजको स्थापना गर्ने कुरा माग्छ ।
केसी र भ्रष्टहरु दुवै समयका तराजुमा जोखिए । भन्नेले दुवैलाई अतिवादी भने । केसीको समर्थन र विरोधमा अस्पलातमै नारावाजी भयो । डा. केसीले जीते निष्ठाले विजय प्राप्त गर्ने र भ्रष्टहरुको विजय भए माफिया गिरीलाई प्राथमिकता मिल्ने । सचेत जनता अहिले ‘डा.गोविन्द भर्सेज भ्रष्टाचारको लडाइँलाई त्यही रूपमा लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्