
-निरन्जन अधिकारी, ईमेज
काठमाडौं, असार १९ । संभवत : अहिलेसम्मकै रोचक पेनाल्टी सुट आउट । दुबै टोलीका सुरुवाती १० प्रहारमध्ये ६ वटा विफल, चार वटा प्रहार मात्रै गोलमा परिणत । यो दृश्य थियो, युरोकप फुटबल अन्तर्गत शनिबार राती सम्पन्न ईटाली र जर्मनीविचिको तेस्रो क्वानटरफाईनल खेलको पेनाल्टी सुट आउटको ।
निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि फ्रान्सको बोर्डोस्थित रंगशालामा शनिबार राती भएको ईटाली र जर्मनीविचको युरोकप क्वाटरफाईनल भिडन्तको छिनोफनो टाई ब्रेकरबाट हुने भयो ।
ठुला महत्वपूर्ण प्रतियोगिताहरुमा यसअघि ईटालीलाई पराजित गर्न नसकेको जर्मनी यसपटक इतिहासको दुर्भाग्य तोड्ने लक्ष्यमा थियो । उता इटाली पनि के कम ? सधै जर्मनीलाई स्तब्ध बनाँउदै आएको इटालीयन फुटबल टोली यसपटक पनि पछि हट्ने कुरै थिएन । जब खेल टाई ब्रेकरमा पुग्यो, विश्वभरका फुटबलप्रेमीहरु झनै उत्साहित बने । बोर्डो रंगशालाभित्रको रौनक र उत्साह अर्कै थियो ।
सुरुमा ईटालीका लोरेन्जो इन्सिग्नेले गोल गरे । यसपछि जर्मनीका टोनी क्रुसले गोल गर्दै बराबरी गरे । यसपछि पेनाल्टी प्रहारकै लागि भनेर अतिरिक्त समयको अन्तिम मिनेटमा मैदान छिरेका सिमोनी जाजाले गोल गर्न नसक्दा इटालीमाथि दबाब परयो ।
लगत्तै जर्मनीका थोमस मुलर पनि गोल गर्नबाट चुके । ईटालीको लागि तेस्रो प्रहार लिएका आन्द्रे बार्जाग्लीले गोल गर्दा जर्मनीका मेसुत ओजिलको प्रहार विफल भयो । नियमित खेलको ६५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका ओजिलले पेनाल्टी प्रहार भने खेर फाले ।
इटालीका लागि चौथो प्रहार लिएका ग्रेजियानो पेलाले गोल गर्न नसक्दा जर्मनीका जुलियन ड्राक्सलरले गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्याए । नियमति पेनाल्टीको पाँचौ प्रहार ईटालीका लियोनार्दो बोनुचीले लिए ।
निर्धारित ९० मिनेटको समयभित्र पाएको पेनाल्टीलाई गोलमा बदलेका बोनुची यतिवेला भने जर्मनीका गोलरक्षक म्यानुएल नायरसामु चुके । अब पासा जर्मनीको पक्षमा गयो । जर्मनीका लागि अन्तिम प्रहार लिने अवसर पाए कप्तान बास्टियन स्वेन्सटाईगरले ।
तर स्वेन्सटाईगरको प्रहार गोल बार माथिबाट बाहिरिएपछि जर्मनीले खेल जित्ने अवसर खेर फाल्यो । निर्धारित ५-५ वटा प्रहारमध्ये दुई दुई वटा मात्रै गोल भयो । ईटालीका गोलरक्षक जियानलुईगी बुफोन र जर्मनीका म्यानुअल नायरले एक एकवटा प्रहार बचाएभने दुबै टोलीका दुई दुई जना खेलाडीको प्रहार बाहिरियो । यसपछि खेल सडन डेथमा पुग्यो ।
सडन डेथमा ईटालीका ग्याकेरिनी, पारोलो र डि सिग्लियोको प्रहार गोल भयो । जर्मनीका लागि पनि हुमल्स, किमिच र बोआटिङले लगातार गोल गरे । ईटालीका लागि नवौं प्रहार लिएका माटियो डार्मीयानको नरम प्रहारलाई विपक्षी गोलरक्षक नायरले बचाइदिए ।
यसपछि जर्मनीका जोनास हेक्टरलाई आफ्नो टिमलाई विजयी गराउने स्वर्णीम अवसर मिल्यो । यो अवसर सदुपयोग गर्दै हेक्टरले जर्मनीलाई सेमिफाईनलमा मात्रै पु¥याएनन्, ईटाली विरुद्धको जितविहिन श्रृंखलामा समेत पुर्णविराम लगाईदिए । यो जितसँगै जर्मनीले अघिल्लो युरोकपको सेमिफाइनलमा ईटालीसँग भोगेको हारको बदला समेत लिएको छ ।
प्रशिक्षक वाकिम लोउको टोली जर्मनीले अब सेमिफाईनलमा फ्रान्स वा आईसल्याण्डमध्ये एकको सामना गर्नेछ । उता आधुनिक फुटबलका मास्टर माईन्ड मानिने एन्टोनियो कोन्टेको टोली ईटालीको यात्रा भने टुंगिएको छ ।
यो खेलमा जर्मनीले सुरुवाती पाँच मध्ये तीन पेनाल्टी प्रहार खेल फालेको थियो । पेनाल्टी प्रहारमा यसअघि जर्मनीले अहिलेसम्मकै सबै खेलमा जोड्दा पनि यती धेरै प्रहार खेर फालेको थिएन । यो खेलको परिणाम जे भएपनि रोचक पेनाल्टी प्रहारले यो खेललाई विश्व फुटबलको इतिहासमा एउटा सम्झनलायक भिडन्तको रुपमा हेरिनेछ ।
इंग्लिश प्रिमियरसिपका खेलाडीहरुको पेनाल्टी दुर्भाग्य
फ्रान्समा जारी युरोपक फुटबलमा इंग्लिश प्रिमियर लिग खेल्ने खेलाडीहरुले सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन् । झन् पेनाल्टी प्रहार त इंग्लिश क्लवका खेलाडीहरुको लागि दुर्भाग्य नैं बनिरहेको छ ।
शनिबार रातीका खेलमा इंग्लिश क्लव आर्सनलका मेसुत ओजिल, म्यान्चेस्टर युनाईटेडका बास्टियन स्वेन्सटाईगर र साउथह्याम्पटनका ग्रेजियानो पेलाको पेनाल्टी प्रहार विफल भयो ।
ओजिलले अघिल्लो हप्ता स्लोभाकिया विरुद्धको खेलमा पाएको पेनाल्टी प्रहार पनि खेर फालेका थिए । यसैगरी जारी युरोकप अन्तर्गत पोलण्ड र स्विट्जरल्याण्ड बिचको खेलमा आर्सनलकै विस खेलाडी ग्रानिट झाकाको प्रहार पनि विफल भएको थियो ।
हुन त यही प्रतियोगितामा स्पेनीस ला लिगाका बादशाह मानिने पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पनि पेनाल्टी प्रहार खेर फालेका थिए ।
प्रतिक्रिया दिनुहोस्