१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


लियोनल मेसीबारे १० रोचक तथ्य


0
Shares

काठमाडौं, असार १४ । लियोनल मेसीलाई विश्वको उत्कृष्ट फुटबलर मानिन्छ । कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएसँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

उनले अचानक सन्यासको घोषणा गरेसँगै उनका प्रशंसक तथा फुटबलप्रेमी स्तब्ध भएका छन् । पाँच पटक फिफा बेलन डि ओरको उपाधि हासिल गरेका एक्ला खेलाडी मेसीले तीन पटक युरोपेली गोल्डेन बुट पनि प्राप्त गरेका छन् । अर्जेन्टिनालाई कुनै ठूलो उपाधि दिलाउन नसक्नु उनको दुर्भाग्य बने पनि अन्तर्राष्ट्रिय फुटबलमा उनले आफ्नो जादु देखाएका छन् ।

उनका बारे १० रोचक तथ्य

१. मेसीले अर्जेन्टिनालाई च्याम्पियन बनाउन नसके पनि उनी अर्जेन्टिनाका सर्वाधिक सफल फुटबलर हुन् । उनले अर्जेन्टिनाका तर्फबाट सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा आफ्नो नाम लेखाइसकेका छन् । उनले अर्जेन्टिनाका लागि ५५ गोल गरेका छन् । अर्जेन्टिनाका तर्फबाट कुनै पनि खेलाडीले यति धेरै गोल गर्न सकेका छैनन् ।

२. मेसी बाल्यकालमा ‘ग्रोथ हार्मोन’ सम्बन्धी रोगबाट ग्रसित थिए । उनमा रोग प्रतिरोधी क्षमता कम हुनका साथै आँखाको ज्योति पनि कम हुँदै गएको थियो । यसको उपचारस्वरुप उनले तीन वर्षसम्म लगातार खुट्टामा इन्जेक्सन लिनु परेको थियो ।

३. मेसीको फुटबल प्रतिभालाई सबैभन्दा पहिला स्पेनिस फुटबल क्लव बार्सिलोनाले पहिचान गरेको थियो । सो क्लवले उनलाई १३ वर्षको उमेरदेखि नै अनुबन्ध गरेको हो । मेसी आफ्नो पितासँग बार्सिलोनाको प्राविधिक सचिव कार्लोस रेक्सेकसँग अनुबन्ध गर्न गएका थिए । मेसीलाई लिन क्लव यति हतारिएको थियो कि उनीसँग सम्झौता गर्न कागजसमेत तयार नभए पनि नेप्किन पेपर मै सामान्य सम्झौता लेखेर हस्ताक्षर गराइएको थियो ।

४. सानैदेखि खानाको सौखिन मेसी फ्राई मासु, टमाटर र प्याजका परिकार मन पराउँछन् ।

५. मेसीलाई उनको मुलुक अर्जेन्टिनाले भन्दा पहिल्यै स्पेनले राष्ट्रिय टिमबाट खेल्न प्रस्ताव गरेको थियो । तर मेसीले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

६. अर्जेन्टिनाकातर्फबाट मेसीले अगस्ट २००५ मा पहिलो अन्तर्राष्ट्रिय म्याच हंगेरीविरुद्ध खेलेका थिए । १८ वर्षको उमेरमा डेब्यु गरेका उनले मैदानमा केवल ४७ सेकेन्डमात्र बिताए । उनलाई पहिलो खेलमै रेफ्रीले रेड कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

७. मेसीका पूर्वज इटालियन मुलका हुन् । उनका पूर्वज सन् १८८३ मा अर्जेन्टिना आएर बसोबास गरेका हुन् । मेसीकी आमा लेबनानी मुलकी हुन् ।

८. मेसीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको हो । सोही स्थानमा चे ग्वाराको पनि जन्म भएको थियो ।

९. मेसी मानवीय सहयोगमा पनि चर्चित छन् । उनले सन् २००७ मा लियो मेसी फाउन्डेसन गठन गरी सामाजिक कार्यमा जुटेका छन् । उनले बालबालिकाका लागि एक अस्पताल खोलेका छन् । सन् २०१३ मा उनले सिरियाली बालबालिकाका लागि आफ्नो आम्दानीको एक तिहाइ हिस्सा दान गरेका थिए ।

१०. मेसीको छोराको जन्म २ नोभेम्बर २०१२ मा भएको हो । मेसीका छोरा थियागोको जन्मको ७२ घण्टा नबित्दै उनलाई नेभले ओल्ड ब्वाइज क्लवले अनुबन्ध गरेको छ । थियागोको नामको टाटु मेसीले आफ्नो खुट्टामा लेखाएका छन् ।