९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतीय जनता पार्टीमै मोदी सरकारप्रति असन्तुष्टि


0
Shares

नयाँ दिल्ली, असार १२ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी मै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका काम कारवाहीप्रति असन्तुष्टि देखिएको छ ।

सो पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी यसअघि नै असन्तुष्ट रहँदै आएका थिए भने अटलबिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेशमन्त्री रहिसकेका अर्का नेता यशवन्त सिन्हाले पनि मोदी सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

सिन्हाले आइतबार मोदी सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाएका हुन् । उनले मोदी सरकारको नजरमा आफू ‘ब्रेन डेड’ श्रेणीमा रहेको जनाए । पुराना नेताहरुको उपेक्षा भएकोमा व्यंगात्मक प्रतिक्रिया जनाएका उनले भने, ‘म यतिसम्म पनि लायक छैन कि सरकारलाई कुनै सुझाव दिन सकौं ।’

उनले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्य बन्न भारत असफल भएकोमा समेत सरकारको भूमिकालाई दोष दिए । मोदी सरकारकै केही मन्त्रीहरु सरकारलाई नै भ्रममा राख्न उद्यत रहेको उनको भनाइ थियो । यद्यपि एनएसजीमा भारत सदस्य बन्दासमेत कुनै उपलब्धि नहुने उनको तर्क थियो ।

उनले भने, ‘एनएसजीमा सदस्यता पाउनका लागि सरकारले निकै उत्सुकता बनायो, तर त्यो जरुरी थिएन । सदस्यता पाएको भए पनि भारतले हारेकै हुने थियो, त्यसको लाभ केही हुनेवाला छैन ।’ (एजेन्सी)