
काठमाडौं, असार ९ । गुन्डागर्दीमा संलग्न एक युवकलाई विहीबार दुई राउन्ड गोली प्रहार गरी प्रहरीले काठमाडौंको बिजुलीबजारबाट नियन्त्रणमा लिएको छ ।
गोली प्रहार गरी नियन्त्रणमा लिएका जसवन्त राई भनिने कर्ण गुरुङ भएको प्रहरीले जनाएको छ ।
प्रहरीले हानेको गोली गुरुङको दाहिने खुट्टाको तिघ्रा र पिँडुलामा लागेको छ ।
वीर अस्पतालमा उपचार गराइरहेका गुरुङको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
विगत लामो समयदेखि काठमाडौंको टेकु, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेका गुरुङलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीमाथि उनले फलामको रड प्रहार गर्न खोजेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
गुरुङविरुद्ध ज्यान र केही सार्वजनिक मुद्दा चलिरहेको पनि प्रहरीले जनाएको छ । उनी फरार अभियुक्तको सूचीमा रहेका थिए ।
केही दिनअघि काठमाडौंको कालीमाटी क्षेत्रमा हप्ता असुली गर्नेक्रममा उनले केही स्थानीय व्यापारीहरुमाथि कुटपिटसमेत गरेको बताइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्