८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतलाई एनएसजीको सदस्य बन्नबाट रोक्न सफल भएको पाकिस्तानको दाबी


0
Shares

इस्लामावाद, असार ८ । पाकिस्तानले भारतलाई परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्य बन्नबाट रोक्न सफल भएको दाबी गरेको छ ।

दक्षिण कोरियामा परमाणु आपूर्तिकर्ता समूहको महत्वपूर्ण बैठक बसेर भारतलाई सदस्यता दिनेबारे औपचारिक निर्णय गर्ने तयारी भइरहेको समयमा पाकिस्तानका तर्फबाट यस्तो दाबी प्रकाशमा आएको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका रक्षा सल्लाहकार सरताज अजीजले पाकिस्तानी संसद बैठकमा यस्तो जानकारी दिएका हुन् । उनले एनएसजीको सदस्यता लिने भारतको प्रयासलाई ‘सफलतापूर्वक’ असफल बनाएको दाबी गरे ।

एजएसजीको सदस्यता लिनका लागि भारत र पाकिस्तान दुबै प्रयासरत छन् । अन्तर्राष्ट्रिय समुदायमा पाकिस्तानको तुलनामा भारतको पकड बलियो रहेको चर्चा चलिरहँदा पाकिस्तानले भारतको बाटो छेक्न सफल भएको दाबी गरेको हो । यद्यपि अजीजले पाकिस्तान उक्त समूहको सदस्य बन्न सक्छ वा सक्दैन भन्नेबारे केही जनाएका छैनन् ।

उनले भने, ‘हामी परमाणु आपूर्तिकर्ता समूहको सदस्यताका लागि भारतले गरिरहेको प्रयासको विरुद्ध छौं ।’

उल्लेखनीय छ, दक्षिण कोरियामा यसै साता हुने परमाणु आपूर्तिकर्ताको ४८ सदस्यीय राष्ट्रहरुको बैठकमा पाकिस्तान र भारतको आवेदनबारे छलफल हुँदैछ । शक्ति सम्पन्न राष्ट्र चीनले भारतको आवेदनलाई यसअघि नै अस्वीकार गरिसकेको छ । (एजेन्सी)