८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


विश्वमा मरुभूमिकरणका कारण ८० करोड मानिस कुपोषणको शिकार


0
Shares

काठमाडौं, असार ७ । खेतीयोग्य जमीनको मरुभूमिकरणका कारण विश्वका ८० करोड मानिस लामो समयदेखि कुपोषणको मारमा परेको तथ्यांक सार्वजनिक गरिएको छ ।

जमिनको क्षयीकरण, उत्पादकत्वमा ह्रास, खडेरी, पानीको अव्यवस्थित प्रयोग र जैविक विविधतामा आएको ह्रास जस्ता कारण खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदै गएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

यसले गर्दा कृषिमा आश्रीत विश्वका करोडौं सीमान्तकृत समुदाय कुपोषणको मारमा परेको राष्ट्रसंघले जनाएको हो । अहिले कै अवस्था कायम रहने हो भने अबको २५ वर्षमा विश्वभर खाद्यन्नको उत्पादन १२ प्रतिशतले घट्ने छ ।

यो अवधिमा खाद्यान्नको मूल्य ३० प्रतिशतले बढ्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । विश्वभर रहेको खेतीयोग्य मध्ये ५० प्रतिशत जमिनको मध्य तथा गम्भीर स्तरमा क्षयीकरण भइरहेको छ ।

यस्तै प्रत्येक वर्ष १२ लाख हेक्टर जमिनबाट खाद्यान्न उत्पादन ठप्प हुने गरेको छ । जमीनको मरुभूमीकरण तथा त्यसबाट उत्पन्न समस्या समाधानका लागि दिगो तथा व्यवस्थित खेती प्रणालीलाई प्रोत्साहन गर्नु पर्नेमा विज्ञले जोड दिएका छन् ।

दिगो तथा व्यवस्थित खेती प्रणाली अपनाउन सकेमा अहिलेको कुपोषण तथा भोकमरीको समस्या समाधान हुनुका साथ सन् २०५० सम्ममा २० करोड मानिसका लागि रोजगारी सृजना गर्न सकिने आशा राष्ट्रसंघको छ ।

समस्यालाई अवसरमा परिणत गर्न मरुभूमिकरणविरुद्धको अभियानमा सबै देशले एकीकृत प्रयास गर्नु पर्नेमा जोड दिइएको छ । अहिले नै एकीकृत प्रयास सुरु नगरे जमिनमा आधारित विश्वका गरीब र सीमान्तीकृत समुदायका मानिसको अवस्था भयावह हुने चेतावनी राष्ट्रसंघले दिएको छ । (एजेन्सी)