
बैतडी, असार ४ । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् ।
उनले भने–‘सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।’
मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन् ।
बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए ।
उनले भने–‘विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुःखित छ ।’
भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्