
तीर्थराज भट्टराई –
भारतीय एजेण्डालार्इ शिरोधार्य गर्ने काका नमस्कार !
सर्वप्रथम हड्ताल र आन्दोलनको दुनियाँलार्इ सघाउने अर्को समुहको स्थापना गर्नुभएकोमा बधाइ छ तर तपाइको यो नयाशक्ति नामक समुहको उपस्थितिले म र मजस्ता लाखौं युवाहरु खुसी हुन नसकेकोमा माफी चाहन्छु ।
मैले सानै छँदा, स्कुल पढ्दादेखि तपाईंको नाम सुनेको थिए । समय बदलिदै गयो र मेरो चेत पलाउँदै गयो । त्यो तपाईं अर्थात् बाबुराम भन्ने मान्छे एउटा सशस्त्र विद्रोहमा लागेको थाहा पाएँ अनि कारण पत्ता लगाउँदा पुँजीवादी समाजलार्इ सर्वहारा जनतासँग मिलाउन वा अर्को अर्थमा देशका गरिब किसानजस्ता हेपिएका नागरिकलार्इ हुनेखाने वर्गसरह समान हक, अधिकार दिलाउन भन्ने बुझेँ । कुरा ठिकै थियो, सालौंदेखि पिल्सिएर बसेको समाज अनि हेपिएका ती जनताले अधिकारहरु पाउनै पर्थ्यो । अनि तपाईंका पछि लागेर साथ दिने साथीभाइ वा अरु नेपालीलाई हेरेरै दिनचर्या गुजारिरहेको थिएँ । कुरा २०५८/५९ तिरकै हो, तपाईंहरुका ‘न्यायका लागि गरिएको’ आन्दोलनले उग्र रुप लिइरहेको थियो । कतै बमको आवाज सुनिन्थ्यो त कतै मुठभेडमा सयौं प्रहरी वा माओवादी मारिएको खबर, अनि तपाईंहरुको लडाइले कतै राज्यका सम्पतिको तोडफोड र आगजनी पनि, त्यही भिडमा एकातिर मजस्ता देशका लाखौं युवाहरु देशमा दक्ष, शिक्षा र रोजगारीको सपनाहरु पनि बुनिरहेका हुन्थे त अर्कोतिर आफ्नो र आफ्नो परिवारका सदस्यको ज्यान जोगाउनतिर लागेका हुन्थे । स्कुल र क्याम्पसहरु तपार्इहरुका बन्दसँगै बन्द हुनुपर्थ्यो अनि ती बन्दहरुसँग जबर्जस्ती हामीले आत्मसमर्पण गर्नुपर्थ्यो ।हुँदाहुँदै तपाईंहरुको आन्दोलनको साथमा लागेका मेरा गाउँले दाजुको प्रहरीसगको मुठभेडमा ज्यान गएछ । बिचरा ती दाइका परिवारहरु आजसम्म उहाँको लास वा आशमा बाटो हेरिरहेका छ्न् । पल्लो गाउँका नानीहरु दाइ आउने आशामा बाटो हेरिरहेका छ्न् त अर्को जिल्लाका दिदीबहिनीहरु हरेक वर्ष तिहारमा सप्तरङी टीका लाउने प्रतीक्षामा हुन्छ्न् ।
घटनाक्रम बढ्दै समय बदलिदै गयो, तपाईंहरुको परिवर्तनको नाराले मेरो जीवनको मोड परिवर्तन गर्यो । म बन्द, हड्ताल अनि त्यो घम्साघम्सीको दुनियाँ छोडेर विदेशिने निर्णय गरेँ र आज एघार वर्षसम्म परिवारको काख छोडेर घरको चुलो बाल्न अनि परिवारको पेट पाल्न प्रदेशमा बस्न बाध्य छु । त्यही बीचमा ०६२/०६३ मा ठूलो चमत्कारै भएछ, सयौं वर्षको तपाईंहरुको तपस्या अनि हजारौं जनताको रगतको मूल्य स्वरुप तपाईंहरुले जित्नु भएछ । अनि त सालौंदेखिको राजतन्त्र पनि फालियो र जनताको नाम दिएर घन्काइएको तपाईंहरुको गणतन्त्र नामको नारा पनि सफल भएछ । फलस्वरुप यत्रो संघर्ष र बलिदान गरेर देशका लागि केही गर्ने आशा बोकेको पार्टीलार्इ जङ्गलबाट, गाउँबाट शहरमा ल्याउन सफल भए यिनै नेपाली जनता । भुटेको मकै र गुन्द्रुक अनि ढिंडो खान नपर्ने गरि महलमा बिरियानी खाने बनाए यिनै जनताले ठूलो आशाका साथ । त्यो आशालार्इ जीवितै राख्न निर्वाचनमा पहिलो पार्टी बनाएर सत्ताको न्यानो काखमा पनि राखेरै छोडे तिनै जनताले ।
जब सत्तामा पुगियो अनि बिस्तारै सुख, सुविधाको मात चढ्न थाल्यो तपाईंहरुलार्इ । तपाईं पहिला देशको अर्थमन्त्री पनि बन्नु भयो ! सिउँदोको सिन्दुर पुछिएका ती अबला नारीले जुन सपना देखेका थिए, अनि स्कुल पढ्न नपाएर तपाईंहरुको बन्दुक समाउन बाध्य ती नागरिकले जे सोचेर लडाइमा होमिएका थिए, त्यस्तो केही भएन । अझ आश मरेको थिएन उनिहरुमा, फेरिपनि त्यही आशमा रुमल्लिएका जनताले तपाईंलार्इ देशको कार्यकारी पदमा पुर्याइछाडे तर के पाए ? जिन्दगी भर गरिब जनता र देशको स्वाधिनताको लागि लड्ने तपाईंको फुस्रा नारालार्इ हेरेर बस्न बाध्य भए ।जिन्दगीभर तपाईं भारतलार्इ सराप्न र उस्को हेपाहा अनि विस्तारवादी नितीको बिरुद्धमा उभिनु हुन्थ्यो तर सत्तामा पुगेपछि एकाएक भारत गएर बिप्पा जस्तो राष्ट्रघाती सम्झौता गरेर पहिलेका पुँजीवादी सरकारलाई निरन्तरता दिनुभयो । समय उत्तिकै बित्दै गयो, तपाईंहरु बिस्तारै जनवादीबाट धनवादीमा परिणत हुन थाल्नुभयो । गाउँका झुप्रा घरहरु भन्दा महलको बिलासीपन प्यारो लाग्न थाल्यो अनि त कहाँको दशवर्षे जनयुद्ध वा कहाँको सत्र हजार जनताको लास ! यो सबै सिरानीमा राखेर तपाईंहरु नयाँ आर्थिक क्रान्ति भन्दै आफ्नो थैलो भर्न लाग्नु भयो । राहतका, लडाकुका सबै रकम कुम्ल्याएर मोज–मस्तीतिर लाग्नु भयो अनि त तपाईंहरुलार्इ जनताको के को पिर हुन्थ्यो र ? संविधान बनाउने भन्दै एउटा संविधानसभा त्यसै तुहियो फेरि जनताकै पसिनाबाट संकलित करोडौं रकम खर्चिएर अर्को चुनाव भयो । देश संक्रमणकालबाट गुज्रिरहेको थियो र संविधान बनाएर जनतालार्इ केही उत्साह दिनुपर्ने जिम्मेवारी स्वरुप तपाईंले संविधान निर्माणको सभापपति जस्तो पद पाउनु भयो अनि अन्ततः देशको पहिलो गणतान्त्रिक संविधान पनि तपाईं कै सभापत्तित्वमा बनेकै हो ।
तर यहाँबाट घटनाले अर्को मोड लियो, जनताले तपाईंको असली रुप चिन्ने मौका पाए । रामको मुकुट लाएर रावणको रुप धारण गर्ने तपाईंको भित्री रुप चिन्न पाए । डाक्टरको उपाधी लिएर विज्ञ ठानिने तपाईंको बुद्धि त अहिलेका नपढेका मान्छेभन्दा दशगुणा तल रैछ । आफैँले बनाएको संविधानलाई अपच्य मानेर तपाईं सडकमा नाटक मन्चन गर्दै उर्लिनु भयो, विभिन्न सोझा साझा जनजाति र मधेशी जनतालार्इ हक अधिकारका नाममा आफ्नो स्वार्थकालागि उकासेर अराजकता फैलाउनु भयो । अनि जिन्दगीभर भारतलार्इ सराप्ने तपाईं त्यही भारतसँग मिली सोझा नेपालीलार्इ नाकाबन्दीको मारमा पार्नु भयो र भारतकै स्वार्थ र बिगतमा लुटेको पैसाको भागबन्डा नमिलेर अनि थाकेका, असहाय, समाजबाट बहिस्कृत भएका ब्यक्तिहरुलार्इ समेटेर नयाँ शक्तिको खोक्रो नारा लाएर उफ्रदै हुनुहुन्छ । अब भन्नुस दस बर्षसम्म देशका सम्पती लुटेको र गरिब जनता बन्दुकले भुटेको जिम्मा कस्ले लिन्छ ? ती विधवा नारीको सिउँदो पुछिएको चोटको दोषी तपाईं हो कि हैन ?
हिजो जनताका छोराछोरीलाई बुर्जुवा शिक्षाको उपनाम दिएर हातबाट कलम खोसेर बन्दुक राख्दै, आफ्नो छोरीलाई भारतको प्रख्यात होस्टेलमा राखी यही बुर्जुवा शिक्षा पढाउने तपाईं नै हो, विध्यालयमा पढाईरहेका शिक्षकलाई रेट्ने पनि तपाईं नै हो भने आज लाखौँ युवालाई अरबको ५० डिग्री सेल्सियसमा नेपाली २० हजार रुपैयाँ कमाउनकै लागि बिक्न बाध्य पार्ने पनि तपाईं नै हो । ढोंगी ब्यवहार र अनुहारले आफ्नो नयाँ शक्तिमा पढे लेखेका धनीमानीलाई खुलाएको देखावटी विज्ञापनले नयाँ पार्टीको घोषणा त गर्नुभयो अनि केही परजीवीहरु भेला पारि बिरयानी खुवाउदै घोषणा गरेको नयाँ पार्टी दक्षिणबाट पैसो आउन छोडेपछि खोप्लाङको बाख्रा खोरमा सिमीत भएसँगै सत्र हजार लासमा टेकर घोषणा गरेको पार्टीको औकात र अर्थ अनि तपाईंको भावी हविगत त अब आउने समयले देखाउने नै छ । नयाँ शक्तिको घुम्टो ओढ्दैमा तपाइलाई मजस्ता लाखौं देशप्रेमी युवाले उन्मुक्ति दिन सक्दैनन् र यसको मुल्य तपाइले चुकाउनु नै पर्नेछ, म त्यसैको प्रतिक्षामा हुनेछु ।
प्रतिक्रिया दिनुहोस्