
पेरिस, जेठ २८ । फ्रान्समा युरोकपको चहल पहल बढेलगत्तै सुरक्षा चुनौती थपिएको छ । पछिल्लो सयम ईस्लामिक अतिवादीहरुले युरोपलाई निशाना बनाउँदै आएकाले युरोकपको अवधिभर फ्रान्समा सुरक्षा चुनौती बढेको हो ।
युरोकपका खेल आयोजना हुने फ्रान्सका सबै १० शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत वर्ष व्यंग्य पत्रिका सार्ली हेब्दोको कार्यालयमा भएको हमला र गत नोभेम्बरमा पेरिसमा १ सय ३० जनाको ज्यान जाने गरी भएको हमलापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर पनि युरोकपको लागि त्यहाँ पुग्ने ५ सय ४० भन्दा बढी खेलाडी तथा लाखौं फुटबल समर्थकहरुलाई आश्वस्त पार्न फ्रान्सले सकिरहेको छैन ।
गत सातामात्रै युक्रेनमा पक्राउ परेका एक जना संदिग्ध अतिवादीले युरोकपमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएपछि सुरक्षा चुनौती झनै थपिएको हो । फ्रान्सले युरोकपकै लागि ९० हजार सुरक्षाकर्मी परिचालन गरेको बताएको छ ।
एक महिनासम्म चल्ने युरोकपका ५१ खेल हेर्न विश्वभरबाट ७० लाख दर्शक फ्रान्स पुग्ने अनुमान आयोजकको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्