८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अपहरणमा परेका एक बालकले यसरी ज्यान जोगाए


0
Shares

महोत्तरी, जेठ १६ । सर्लाहीका एक बालकले अपहरणकारीको फन्दाबाट भागेर ज्यान जोगाउन सफल भएका छन् ।

मोटरसाइकलमा आएका अपरिचित दुई मोटरसाइकलमा आएका चार युवकले “आमा बिरामी छिन्” भनी झुक्याएर सर्लाही ढुङ्ग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसेकुमारलाई आज बिहान अपहरण गरेर लगेका थिए ।

विद्यालयमा पढ्न गएका समयमा सो व्यक्तिले आमा बिरामी अवस्थामा सुख्खे पोखरीस्थित अस्पतालमा भर्ना भएको भनी झुक्याउँदै आफूसँग लगेको बालकले बताएका छन् । मोटरसाइकलमा बसाएर ती व्यक्तिले बालकलाई पूर्व–सर्लाहीको एक जङ्गलमा लगेर आफूलाई आँखामा पट्टी बाँधिदिएको उनले बताएका छन् ।

अपहरणकारी एकापसमा गफिन थालेपछि उनीहरुको आँखा छलेर भागेको बालकले बताएका छन् । उनी भागेर जङ्गलमा दाउरा सङ्कलन गर्दै गरेको महिलाकहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको उनले बताए ।

बालकका अनुसार आफू भागेको थाहा पाएपछि अपहरणकारीले सुन सुन भन्दै दौडेर बोलाउन आएका थिए । सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अवस्थाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार सिंहका अनुसार चिन्तित मुद्रामा रहेका बालक अहिले सुरक्षित छन् । बालकका आफन्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जीवन गिरीले बताए । रासस