९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


रियाल मड्रिडले चुम्यो युरोपियन लिगको उपाधि, जिदानले राखे कीर्तिमान


0
Shares

काठमाडौं, जेठ १६ । स्पेसिन क्लव रियाल मड्रिडले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति इटालीको मिलानमा भएको फाइनलमा आफ्नै शहरको प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई टाईब्रेकरमा पराजित गर्दै रियाल मड्रिडले उपाधि सुरक्षित गरेको हो ।

यो सँगै फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले पहिलो सिजनमै रियाल मड्रिडलाई युरोपियन च्याम्पियन बनाएका छन् । साथै जिदानले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने कीर्तिमान समेत राखेका छन् ।

गत जनवरीमा राफा बेनीटेजलाइ क्लवले बर्खास्त गरेपछि रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले सन् २००२ मा खेलाडीको रुपमा यो सफलता हात पारेका थिए ।

शनिबार राति भएको खेलको १५ औं मिनेटमा सर्जीयो रामोसले गोल गर्दै रियाललाई अग्रता दिए । दोस्रो हाफमा यानिक कारास्कोले एक गोल फर्काउँदै एथ्लेटिकोलाई बराबरीसम्म ल्याए ।

निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन र खेल टाई ब्रेकरमा पुग्यो ।

टाई ब्रेकरमा रियाल मड्रिड ५-३ ले विजयी भयो । दुबै टोलीले सुरुवाती तीन प्रहारलाई गोलमा बदलेका थिए । चौथो प्रहारमा रियालका रामोसले गोल गर्दा एथ्लेटिकोका हुँवानफ्रानले भने गोल गर्न सकेनन् ।

यसपछि रियालका क्रिश्चियानो रोनाल्डोले अन्तिम प्रहार लिँदै टोलीलाई जिताउने जिम्मेवारी पुरा गरे ।

दुई हप्ता अघि वार्सिलोनाभन्दा एक अंकले तल रहँदै ला लिगाको उपाधि जित्नबाट वञ्चित भएको रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधिसँगै सिजनको सुखद विदाइ गरेको छ ।