८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मनिषा मृत्युको अनुसन्धान सुरु


0
Shares

नवलपरासी, जेठ १४ । राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको मृत्युको अनुसन्धान सुरु गरिएको छ ।

मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा फेलापरेपछि मनिषाको हत्या भएको आशंकामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशंकामा मनिषासँग प्रेमसम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

यता, मनिषाको शवलाई शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाकाअनुसार शुक्रबार शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान गर्न थप सजिलो हुनेछ ।

नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।

मनिषा स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्चमावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पूर्ण कारण खुल्नसकेको छैन ।

घटनास्थलको अव्यवस्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ ।

बिमल घर्तीमगर खेलको सिलसिलामा बेल्जियम रहेकाले र आमा काम विशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिइन् । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।

आमा बिहीबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेर्दा छोरी मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दा र प्रहरीलाई खबर गरेपछिमात्र घटना बाहिर आएको थियो ।

मनिषाका दाजु बिमल बेल्जियमबाट शुक्रबार काठमाडौं आइपुगेका छन् । रासस (तस्बिर संलग्न छ)