८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अपहृत उद्योगपतिलाई भारततर्फ लगियो


0
Shares

काठमाडौं, जेठ १४ । बाराको महागढीमाई नगरपालिकामा पर्ने पसाहा पुलनजिकबाट बिहीबार साँझ भारतीय हतियारधारीले वीरगंजका एक उद्योगपतिलाई अपहरण गरेको छ ।

अपहरणकारीले उद्योगपतिका सवारी चालकलाई गोली हानेर घाइते पनि बनाएका छन् ।

वीरगंज उपमहानगरपालिका–७ घर भएका केडिया अर्गनाइजेसनका संचालक सुरेश केडियालाई भारतीय बन्दुकधारीले अपहरण गरेका हुन् । केडियालाई अपहरण गर्ने क्रममा बन्दुकधारीले केडियाका सवारी चालक पर्सा विन्दवासिनी गाविस–२ घर भएका ३४ वर्षीय उमेश साह कानुलाई गोली हानेर घाइते बनाएका छन् ।

चालक कानुको दाहिने कन्चटमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते भएका कानुको वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

हतियारधारी समूहले उद्योगपति केडियालाई अपहरण गरेर बाराको कबहीगोठ नाका हुँदै सीमावर्ती भारतीय गाउँतर्फ लगेको सूचना आएकाले भारतसँग जोडिएका बाराका सीमा नाका सिल गरेर खोजी सुरु गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।

अपहृत सुरेश केडिया वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाका दाजु हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट