८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


७० तोला सुनसहित दुई पक्राउ


0
Shares

लहान, जेठ १३ । प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट बुधबार राति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो ।

स६प ६३२४ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुबैजनालाई चेकजाँचकाक्रममा १०/१० तोलाको सातओटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट डीयुबीआई युएई १० तोला लेखिएको ६ ओटा र एसयुआइएसएसई १० तोला लेखिएको एकओटा सुनको बिस्कुट, नगद ३४ हजार ८०० र दुई थान सामसुङ मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ । रासस