८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शिक्षकहरु नै रक्सीले मातेर बसेपछि…


0
Shares

दोलखा, जेठ १३ । दोलखामा रक्सीले मातेर विद्यालय आउने दुई शिक्षकलाई पक्राउ गरिएको छ ।

दोलखाको भुसाफेदा गाविस–३ मा रहेको ताप्केडाँडा प्राविमा कार्यरत् दुई शिक्षकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको हो ।

प्रहरीले उनीहरुलाई मादकपदार्थ सेवन गरी विद्यालयमा पठन–पाठन नगरेको स्थानीय अभिभावक र विद्यार्थीले व्यापक गुनासो गरेपछि उनीहरुलाई मातिरहेकै अवस्थामा बुधबार समातिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।

पक्राउपर्ने प्रावि तहका शिक्षक काभ्रेपलाञ्चोक जिल्ला बिर्तादेउराली गाविस–६ घर भएका ४२ वर्षीय रमेशराज पन्त र भिनपा–४ फुलपा घर भएका ४९ वर्षीय कुमार बस्नेत रहेको सुनुवारले बताए ।

बस्नेत २०४७ सालदेखि शिक्षककोरुपमा कार्य गरी २०४८ सालमा स्थायी नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा नेपाली विषय पढाउँछन् ।

उनी उक्त विद्यालयमा २०६१ सालमा चुलिडाँडा प्राविबाट सरुवा भएका थिए ।

त्यस्तै, पन्त २०४६ सालमा शिक्षककोरुपमा कामकाज गरी २०४८ सालमा नियुक्ति पाएका व्यक्ति हुन् । उनी बिएड उत्तीर्ण भई उक्त विद्यालयमा अंग्रेजी विषय पढाउँछन् ।

पन्त उक्त विद्यालयमा २०७१ सालमा श्यामास्थित गर्जांगढुंगा उमाविबाट सरुवा भएका थिए ।

उनीहरुलाई आवश्यक जरिवाना गर्न र आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

मातेर विद्यालयमा पढाउन नजाने शिक्षकलाई प्रहरीले कारबाही गरेको यो पहिलो घटना हो । रासस

फाइल फोटो