९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


क्रिकेट संघको निलम्बन लम्बिने संकेत, विवाद अध्ययन गर्न टोली नेपाल आउने


0
Shares

काठमाडौं, जेठ ११ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्ब्याउने संकेत गरेको छ ।

क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी राष्ट्रिय खेलकुद परिषदलाई सोमबार पत्र पठाउँदै आइसीसीले यस्तो संकेत गरेको हो ।

आइसीसीको पत्र अनुसार क्यानको हालको निलम्बन कम्तिमा पनि आगामी अक्टोबरसम्म जारी रहनेछ । क्यानलाई निलम्बित गर्नुभन्दा अगाडिको विवादबारे विस्तृत अध्ययन गर्न आईसीसीले एउटा टोली नेपाल पठाउने भएको छ ।

उक्त टोलीले दिएको सुझाव प्रतिवेदनको आधारमा मात्रै नेपाली क्रिकेटको भविष्यबारे निर्णय लिने आईसीसीको तयारी छ । कुनै पनि राष्ट्रको क्रिकेट नेतृत्वलाई लिएर विवाद हुँदा आइसीसीले आफ्नै स्वतन्त्र समिति बनाएर छानविन गर्दै आएको छ ।

त्यही समितिको सिफारिश वमोजिम निलम्बन फुकुवा गर्ने वा शर्तहरु थपी अझ कडा बनाउने भन्ने निर्णयमा आईसीसी पुग्दछ । यसका लागि निकै लामो समयसम्म लाग्ने गरेको अन्य देशहरुको घटनाले देखाएका छन् ।

आईसीसीले सरकारी हस्तक्षेप भएको तथा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुन नसकेको कारण देखाउँदै गत बैशाख १२ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो ।