
काठमाडौं, वैशाख ३१ । अमेरिकी सरकारले राष्ट्रपति ‘बाराक ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने’ भन्ने जस्तो घृणित अभिव्यक्ति दिने एन्थोनी सेनेकालमाथि कारबाही प्रक्रिया थालेको छ ।
आफूलाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका सहयोगी बताउने सेनेकालले ‘ओबामा दुश्मनको एजेन्ट’ भएको र उनलाई अघिल्लो कार्यकालमै ‘ह्वाइहाउसअगाडि नै गोली हानिदिनुपर्ने थियो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तो अभिव्यक्ति दिएकामा उनीविरुद्ध अमेरिकी सरकारले अनुसन्धान थालेको हो ।
डोनाल्ड ट्रम्पको घरमा ३० वर्षसम्म काम गरेको दाबी गर्ने सेनेकालले ट्रम्पको चुनावी प्रचार–प्रसार चलिरहेकै बेला ‘सीएनएन’सँग कुरा गर्दै ओबामाबारे यस्तो उग्र प्रतिक्रिया दिएका हुन् ।
आफ्ना विवादास्पद अभिव्यक्तिका कारण ट्रम्प स्वयं रिपब्लिकन पार्टीभित्र आलोचित भएका बेला उनको सहयोगी बताउने सेनेकालको यस्तो भनाइ सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा भुइँचालो गएको छ ।
ट्रम्पका सहयोगीहरुले भने सेनेकालसँग अहिले कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्