
काठमाडौं, बैशाख २६ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा गत सिजनको विजेता चेल्सीलाई सन्डरल्याण्डले ३–२ ले हराएको छ ।
चेल्सीलाई हराएसँगै सन्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ । १४ औं मिनेटमा डिएगो कोस्टाको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।
४१ औं मिनेटमा सन्डरल्याण्डका वाहबी खाजरीले बराबरी गोल फर्काए । तर पहिलो हाफको अन्तिममा नेमानजा माटिकले गोल गर्दै फेरि चेल्सीलाई अग्रता दिलाए ।
पहिलो हाफमा २–१ ले पछि परेको सन्डरल्याण्डले दोस्रो हाफमा थप दुई गोल गरेर नतिजा आफ्नो पक्षमा पार्यो ।
सन्डरल्याण्डका लागि फाबिओ बारिनीले ६७ तथा जर्मेन डिफोले ७० औं मिनेटमा गोल गरे । चेल्सीको कप्तान जोन टेरी इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
जीतपछि १७ औं स्थानमा उक्लिएको सन्डरल्याण्डको दुई खेल बाँकी हुँदा ३५ अंक भएको छ । नवौं स्थानको चेल्सीको ४८ अंक छ ।
पुछारको एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकिएको न्युक्यासल रेलिगेशन जोनमा झरेको छ । न्युक्यासलको एक खेल बाँकी हुँदा ३४ अंक छ ।
प्रतिक्रिया दिनुहोस्