
काठमाडौं, बैशाख २५ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।
हैदरावादले गुजरात लाइन्सलाई पाँच विकेटले हराएको हो । गुजरातले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेटायो ।
हैदरावादका शिखर धवनले ४० बलमा नटआउट ४७, कप्तान डेविड वार्नरले १७ बलमा २४ तथा दिपक हुड्डाले १२ बलमा १८ रन बनाए ।
गुजरातका धवल कुलकर्णी र डवेन ब्राभोले दुई दुई विकेट लिए । यसअघि हैदरावादमा पहिले ब्याटिङ गरेको गुजरातले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय २६ बनायो ।
उसका लागि एरोन फिन्चले ४२ बलमा नटआउट ५१, कप्तान सुरेश रैनाले १० बलमा २० तथा डवेन ब्राभो र रविन्द्र जडेजाले समान १८/१८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।
हैदरावादका भुवनेश्वर कुमार र मुस्ताफिजुर रहमानले दुई दुई विकेट लिए । १० खेलमा ६ मा विजयी र चारमा पराजित भएको गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ ।
यस्तै ८ खेलमा पाँचमा विजयी र तीनमा पराजित भएको हैदरावाद १० अंकसहित चौंथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्