
काठमाडौं, वैशाख २४ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि अनुसन्धानमा राज्यले दिएको जनशक्तिको संख्या र प्राथमिकता आजको सन्दर्भमा अपर्याप्त रहेको जनाएको छ ।
परिषदले अनुसन्धानलाई आवश्यक पर्ने मानव–संसाधनको क्षमता बृद्धि, सुविधासम्पन्न प्रयोगशालालगायत आवश्यक भौतिक पूर्वाधार विकासका लागि हालको बजेट अपर्याप्त रहेको जनाएको हो ।
रजत महोत्सवका सन्दर्भमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा परिषदका कार्यकारी निर्देशक वाइआर पाण्डेले उचित जनशक्ति व्यवस्थापन एवं निकायगत् सहकार्यको कमीले अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए ।
उनले भारतलगायत अरु मुलुकका सफल मोडेलहरुको अध्ययन गरी नेपालका लागि उपयुक्त कृषि शिक्षा, अनुसन्धान र विकासको मोडेल अपनाउनुपर्नेमा जोड दिए ।
कृषि अनुसन्धान प्रणालीलाई संघीय सरकारको मातहतमा राख्नुपर्ने पनि उनको सुझाव छ ।
पाण्डेले आगामी २० वर्षसम्मका लागि नेपालको कृषि अनुसन्धान तथा विकासलाई दिशानिर्देश गर्ने दीर्घकालीन कृषि रणनीतिअनुरुप परिषदको पुनर्संरचना गर्ने कार्य पनि सुरु गरिसकिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्