६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘नक्कली पाइलट’ डेढ वर्षदेखि गोमा एअरका सहचालक, यस्तो छ कार्कीको नालिबेली


0
Shares

काठमाडौं, वैशाख २२ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमानचालक बनेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोमा एअरका सहचालक विशाल कार्कीलाई पक्राउ गरी बुधबार राजधानीमा सार्वजनिक गरेको हो ।

कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सहचालक बनेको आरोप प्रहरीले लगाएको छ ।

धनुषा घर भइ हाल ललितपुर बस्ने विमान सहचालक कार्कीले २०६४/६५ सालमा काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी फिलिपिन्सको डेल्टाफोर्समा पाइलट कोर्ष पूरा गरी नेपाल नागरिक उड्यान प्राधिकरणबाट व्यक्तिगत् इजाजतपत्र लिएको प्रहरीले जनाएको छ ।

२०५२ सालमा जानकी सेकेन्डरी बोडिङ स्कुल जनकपुरबाट एसएलसी उत्तीर्ण गरेको र भारतको लखनउमा उच्चशिक्षा पढ्न गएका कार्की अनुत्तीर्ण भएपछि अमृत साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र लिएको प्रहरीले जनाएको छ ।

कार्कीले करिब डेढ वर्षदेखि गोमा एअरमा काम गर्दै आएका थिए ।

प्रहरीले ६० जनाभन्दा बढी विमानचालक अनुसन्धानको घेरामा रहेको जनाएको छ ।