
अपडेटः
काठमाडौं, वैशाख २२ । आन्दोलनरत् मधेसी मोर्चाले नयाँ सरकार गठनमा साथ दिने आश्वासन दिएको छ ।
नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच बुधबार भएको छलफलमा मधेसी मोर्चाले नयाँ सरकार गठनमा साथ दिने आश्वासन दिएको हो ।
व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा बसेको बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्षसमेत रहेका मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेसका मागका विषयमा आफूहरुले कुरा राखेको र कांग्रेसले सरकार परिवर्तनका विषयलाई प्राथमिकता दिएको बताए ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार गठनमा मधेसी मोर्चाले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।
उनले मधेसी मोर्चाका मागप्रति कांग्रेस सकारात्मक भएकोसमेत बताए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन गर्ने नेपाली कांग्रेसको प्रस्तावपछि मधेसी मोर्चाका नेताहरु पनि सरकार परिवर्तनको कसरतमा लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्