१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको निष्कर्ष


0
Shares

काठमाडौं, बैशाख २० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले भोलिदेखि शुरु हुने व्यवस्थापिका संसद् बैठकमा सरकारविरुद्ध कडा ढंगले पेश हुने निर्णय गरेको छ ।

संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कूटनीतिक क्षेत्रमा ओली सरकार विफल भएको निष्कर्ष निकालिएको हो ।

सरकार प्रचारमै मात्र अल्झेको, वर्षा र हिउँद पालमुनी कटाएका भूकम्प प्रभावितलाई घर बनाउन दुई लाख अनुदान दिन बेवास्ता गरेको तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत चासो नदिएको आरोप कांग्रेसको छ ।

यस्तै नाकाबन्दी हटेको तीन महिना हुँदा पनि उपभोक्तालाई माग अनुसार ग्यास र पेट्रोल दिनुको साटो कालोबजारीलाई संस्थागत गरेको काँग्रेसको आरोप छ ।

संविधानको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न टिकाटिप्पणी हुँदा पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन प्रयास नगरेको तथा संविधानको कार्यान्वयन र मधेशी दलहरुसँग वार्ता गरेर समस्या समाधानमा तदारुकता नदेखाएको आरोप कांग्रेसले लगाएको छ ।

पुनर्निर्माण, मधेशी दलसँगको वार्ता, संविधानको कार्यान्वयनलगायतका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिएसम्म पूर्व बजेट छलफल र नीति तथा कार्यक्रम पेश गर्न नदिने चेतावनी कांग्रेसले दिएको छ ।