६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इपीएस कोरियाको कोटा घट्यो, आवेदक बढे


0
Shares

काठमाडौं, वैशाख १८ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षामार्फत् यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाएपनि दरखास्त दिनेको संख्या भने उल्लेखनीयरुपमा बढेको छ ।

सन् २०१७ का लागि सातौं भाषा परीक्षाका लागि तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार ६७८ जनाले दरखास्त दिएको इपीएस कोरिया शाखाले जनाएको छ ।

तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार ४८८ र उपत्यकाबाहिरबाट २९ हजार १९० जनाले आवेदन दिएका हुन् ।

यो वर्ष दरखास्त संकलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यकाबाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र तोकिएको थियो ।

यो वर्ष जम्मा तीन हजार १०० कामदार भाषा परीक्षामार्फत् उत्तीर्ण गराइने इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।

गत वर्ष आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएकामा यस वर्षभन्दा कम ५१ हजार ४९९ले मात्रै दरखास्त दिएका थिए ।

पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिन पाउनेछन् भने अन्य परीक्षार्थीले राजधानीबाट परीक्षा दिनुपर्नेछ ।

यस वर्ष अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाउने गृहकार्य गरिएपनि तयारी नपुगेपछि स्थगित गरिएको थियो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यकारूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । यस वर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकालेमात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कुल २०० पूर्णांकको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिकासमेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ ।

कोरियाले विगतमा जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदैछ । निर्देशक बाँस्तोलाले निर्माण क्षेत्रमासमेत नेपाली कामदार लैजान कोरियालाई आग्रह गरिएको जानकारी दिए ।

परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् ।

तर, भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसारमात्र जान पाइने इपीएसले जनाएको छ ।

सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत् कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सन्चालन हुँदै आएको छ ।

निर्देशक बाँस्तोलाले नेपाली कामदारलाई कोरियाले उच्च प्राथमिकता राखेको बताए ।

कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकामा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

विगतमा कामदार लिन पाँचौँ, छैटौं स्थानको प्राथमिकतामा नेपालीलाई राख्ने गरेकामा नेपाली कामदारको इमान्दारिता र परिश्रम देखेर अहिले कोरियाले दोस्रो उच्च प्राथमिकतामा राखेको हो ।

अहिले दर्खास्त दिएकाहरुले आगामी असार ४ र ५ गते भाषा परीक्षामा सहभागी हुन पाउनेछन् । रासस