१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना, कसले के भने ? (भिडियोसहित)


0
Shares

काठमाडौं, वैशाख १८ । भूकम्पपछिको पुनःनिर्माण, संसद अधिवेशन र मधेसी मोर्चासँगको वार्तालगायतका विषयमा सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना भएको छ ।

शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सत्तारुढ दलका नेताहरु र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेका हुन् ।

उनीहरुले भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको आरोप लगाए ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामबारे जानकारी दिएका थिए । उनले आगामी जेठको पहिलो हप्तामा स्वयंसेवक परिचालन गरेर पुनःनिर्माणलाई गति दिने, संसद अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफल सुरु गरिहाल्ने र मधेसमा देखिएको समस्यालाई राष्ट्रिय मुद्दाकोरुपमा लिइ मधेसी दलसँग वार्ता गर्ने प्रस्ताव गरेको एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनःनिर्माणका लागि सरकारी संयन्त्रलाई नै प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताए ।

उनले स्वयंसेवक परिचालन सानो अंशमात्रै हो भन्दै सरकारले पुनःनिर्माणको काममा चासो नै नदेखाएको आरोप लगाएको कांग्रेस नेता महेश आचार्यले जानकारी दिए ।

नेता देउवाले मधेस समस्या टुंगिन लागिसकेको अवस्थामा सरकारी बेवास्ताका कारण अलपत्र परेको आरोप लगाएका थिए ।

उनले मधेसका मुद्दालाई राष्ट्रिय समस्याकोरुपमा लिनु सकारात्मक भन्दै सरकारी वार्ता टोलीप्रति आन्दोलनरत् पक्षको विश्वास नदेखिएका कारण पुरानै वार्ता समितिलाई कायम राख्ने वा नयाँ बनाउने भन्नेबारे पुनर्विचार गर्न सुझाव दिएका थिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले अहिलेको पुनःनिर्माण प्राधिकरण जुद्ध शमसेरको पालाको जत्तिको पनि नभएको बताए ।

उनले यही अवस्था रहेमा भूकम्पपीडितले अझै धेरै हिउँद र वर्षा टहरामा नै बिताउनुपर्ने बताए ।

प्राधिकरणलाई सक्षम बनाउन सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएको भएपनि आन्दोलनरत् मधेसी मोर्चामा आबद्ध दलका प्रतिनिधि भने सहभागी भएनन् ।

भिडियो हेर्नुहोस्