
-सन्दीप पौड्याल, ईमेज
म्याग्दी, बैशाख १८ । हिमाली दृश्यावलोकनका लागि म्याग्दीको घोरेपानी उत्कृष्ट मानिन्छ । जंगलको बीचमा रहेको घारेपानी स्वदेशी तथा विदेशी पर्यटक माझ लोकप्रिय छ ।
छोटो पदयात्राका रुपमा परिचित घोरेपानीमा सिजनका बेला दैनिक ५ सयसम्म पर्यटक पुग्ने गर्छन् । तर, अहिले भने घोरेपानी पुग्ने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।
घोरेपानीमा अहिले दैनिक ७० देखि ९० जनासम्म विदेशी पुग्ने गरेको होटल व्यवसायीहरु बताउँछन् । यहाँ पुग्ने अधिकांश पर्यटकको आकर्षक गन्तव्य भनेको पुनहिल हो । यहाँबाट सूर्योदयका साथै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
पोखराबाट नयाँपुल, लान्द्रुक, घान्द्रुक, घोरेपानी हुँदै पुनहिल भ्यू टावर पुग्न सकिन्छ । यहाँबाट हिमालको दृश्य राम्रोसँग देखिने भएकाले पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
३ हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलबाट माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी लगायत १५ भन्दा बढी हिमश्रृंखलाका साथै म्याग्दी, पर्वत, कास्कीलगायत जिल्लाको अवलोकन गर्न सकिन्छ ।
खाने, बस्ने सुविधा मात्र नभएर गुरुङ तथा मगर संस्कृतिको अनुभव बटुल्न पनि यहाँ पर्यटकहरु पुग्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्