६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बैंकमा पैसा राखे घाटा


0
Shares

काठमाडौं, वैशाख १७ । बैंकमा रकम राख्दा ब्याज आउँछ तर त्यही रकम लिएर बजारमा किनमेल गर्न जाने हो भने खासै केही आउँदैन, किन ? किनभने ब्याजदरको तुलनामा बजारभाउ कता हो कता आकासिएको छ ।

अर्थतन्त्रको भाषामा ‘ऋणात्मक ब्याजदर’ भनिने यस्तो प्रबृत्ती नेपाली बजारमा कम्तीमा १४ वर्षदेखि छ । २०५८ यता बित्तीय बजारमा बचतको ब्याजदरभन्दा मूल्यबृद्धिको दर बढी छ ।

बैंक बित्तीय संस्थाहरुसँग लगानीको अवसर नहुँदा बचत थुप्रिएको छ । यसले ब्याजदर बढ्न सकेको छैन । अनियन्त्रित कालाबजारी, अत्यधिक उत्पादन लागत र ढुवानी अवरोधका कारण बजारभाउ भने नराम्ररी चर्किएको छ । यो समग्र अर्थतन्त्रका लागि खराब अवस्था हो । यसले सर्वसाधारणको क्रयशक्ति घटाउँदै लगेको छ ।

यसले अर्थतन्त्रमा नकारात्मक असर पार्छ । तर यो अवधिमा ठूलो परिमाणमा रेमिट्यान्स भित्रिएकाले प्रत्यक्ष प्रभाव भने खासै नदेखिएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए ।

अहिले बैंक तथा बित्तीय संस्थामा निक्षेप गर्दा पाउने ब्याजदर औसत वार्षिक ४ प्रतिशत हो । यसको अर्थ बैंकमा जम्मा भएको हाम्रो पैसा ४ प्रतिशतका दरले बढ्छ । यही अवस्थामा बजारमा बस्तु तथा सेवाको मूल्य बृद्धिदर भने १० दशमलव २ प्रतिशतले बढेको छ । यस्तो अवस्थामा धेरै पैसाले थोरै बस्तु वा सेवामात्र आउँछ । –कान्तिपुर दैनिकबाट