
काठमाडौं, वैशाख १५ । बेल्जियमले फ्रान्सको राजधानी प्यारिसमा भएको आतंकवादी आक्रमणका आरोपी सलाह अब्देस्लामलाई फ्रान्स सुपुर्दगी गरेको छ ।
गत नोेभम्बर १३ मा प्यारिस आक्रमणपछि चार महिनासम्म लुक्दै बसेका अब्देस्लाम गत मार्च ८ मा बेल्जियममा पक्राउ परेका थिए । पक्राउकाक्रममा उनी सुरक्षा कारबाहीमा घाइते भएका थिए ।
ब्रसेल्समा जन्मिए पनि २६ वर्षीय अब्देस्लामले फ्रान्सको नागरिकता लिएका थिए । उनलाई प्यारिस क्षेत्रभित्रकै कुनै कारागारमा कडा सुरक्षा घेरामा राखिने फ्रेन्च कानुनमन्त्रीले जानकारी दिएका छन् ।
फ्रान्सले अब्देस्लाममाथि आतंकवादी हत्या र आतंकावदी संगठनको क्रियाकलापमा सहभागी भएको आरोप लगाएको छ ।
इस्लामिक अतिवादी समूह ‘आइएस’ले प्यारिसका विभिन्न ६ स्थानमा गरेको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्