३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेपालको जलविद्युत क्षमताबारे उर्जा मन्त्रालय नै बेखबर


0
Shares

काठमाडौं, वैशाख १५ । नेपालमा जलविद्युत उत्पादनको क्षमता कति छ ? जलविद्युत उत्पादन सुरु भएको सय वर्ष नाघे पनि यसको स्पष्ट जवाफ उर्जा मन्त्रालयसँगै आजसम्म छैन ।

झण्डै ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधीको थेसिस लेख्ने क्रममा तत्कालिन सीमित स्रोत–साधनको उपयोग गरेर पत्ता लगाएको ८३ हजार मेगावाटलाई नै नेपालको क्षमताका रुपमा मानिदैं आएको छ । कुनै आधिकारिक अध्ययन नभए पनि यसमध्ये ४२ हजार मेगावाटलाई व्यावसायिक र प्राविधिक रुपमा उत्पादन भएको क्षमता मानिदैं आएको छ । यही कारण १९६८ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना बनाएर दक्षिण एसियाकै दोस्रो जलविद्युत आयोजना निर्माण गर्ने मुलुक बनेको नेपालले यसको उत्तर दिन नसकेर शीर निहुर्‍याउनु पर्ने अवस्था छ । अब भने बल्ल सरकारले नेपालको विद्युत उत्पादन पुनः सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

जल तथा उर्जा आयोगमार्फत सिल्ड कन्सर्नलाई परामर्शदाताका रुपमा छनोट गरेर पुनः सम्भाव्यता अध्ययन सुरु गरिएको र २०७४ को असारसम्ममा नेपालको कुल क्षमता कति भन्ने स्पष्ट आइसक्नेछ ।

‘अहिले नेपालको जलविद्युत क्षमता कति भनेर विदेशीले विभिन्न फोरममा धेरै प्रश्न गर्ने गरेका छन्, आधिकारिक अध्ययन नभएकाले भन्न सकेका छैनौं,’ आयोगका सहसचिव जिबछ मण्डलले भने, ‘बेसिनवाइज रुपमा अध्ययन अघि बढाएका छौं ।’

अगस्टदेखि सुरु भएको सम्भाव्यता अध्ययनअन्तर्गत परामर्शदाताले प्रारम्भिक रुपमा १ लाख ३० हजार मेगावाटभन्दा बढी क्षमता हुने देखाइसकेको र अन्तिम प्रतिवेदन आएपछि यकिन रुपमा भन्न सकिने उनले जानकारी दिए ।
–राजधानी दैनिकबाट