
मोहाली, वैशाख १४ । इन्डियन प्रिमियर लिगको जारी संस्करणमा किंग्स इलेभन पञ्जावले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । जसअनुसार उसले पाँचौं पराजय व्यहोर्दै जारी प्रतियोगितामा सर्वाधिक पराजय व्यहोर्ने टिमका रुपमा आफूलाई उभ्याएको छ ।
उसले हालसम्म ६ वटा खेल खेल्दै पाँचमा पराजय व्यहोरेको हो । पञ्जावले राइजिङ पुने सुपरजाइन्टलाई मात्र पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा पञ्जावले मुम्बई इन्डियन्ससँग २५ रनको पराजय व्यहोरेको हो ।
मुम्बईले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । मुम्बईका कप्तान रोहित शर्मा दोस्रो बलमै रनको खाता नखोलि बाहिरिएका थिए । तर दोस्रो विकेटका लागि पार्थिव पटेल र अम्बाती रायडुले १३७ रनको साझेदारी गरेपछि पञ्जाव दबाबमा परेको थियो । पटेलले ८१ रन बनाए भने रायडुले ६५ रन बनाए ।
पञ्जावका लागि मोहित शर्माले तीन विकेट लिएका थिए ।
१९० रनको लक्ष्य पाएको पञ्जावले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनमात्र बनाउन सक्यो । पञ्जावका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५६ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्