१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको वाकयुद्ध अनावश्यक : नेता सिटौला


0
Shares

काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री केपी ओलीबीचको वाकयुद्ध अनावश्यक भन्दै टिप्पणी गरेका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा उनले राष्ट्रपति यादवले संविधान जारी नगरेको भए सेनाले कु गर्ने थियो भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्री ओलीले राष्ट्रपतिले नै कु गर्न खोजेका हुन् भन्दै दिएको अभिव्यक्ति अनावश्यक भनी टिप्पणी गरेका हुन ।

उनले नेपाली सेना लोकतन्त्रप्रति निष्ठावान रहेको भन्दै कुनै पनि हालतमा कु नगर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक मुद्धा समाधान गर्न नेपालका राजनीतिक दलहरु सक्षम रहेको भन्दै अनावश्यक टिप्पणी नर्गन पनि आग्रह गरे ।

राष्ट्रका साझा विषयबस्तुमा सबै राजनीतिक दलहरु एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनकोे भनाइ थियो । नेता सिटौलाले नीजि स्वार्थ छाडेर मुलक निर्माणमा केन्द्रीत हुन आग्रह गरे ।

संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको भन्दै सिटौलाले कतिपय दलका असन्तुष्टिलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन गर्न चुनौती बढेको बताए ।

उनले सबै राजनीतिक दलको एकताबाट मात्र संविधान कार्यान्वयन सहज हुने भएकाले सबैलाई एकताको मार्गमा आउन आग्रह गरे ।

नेपालको संविधान विश्वकै उत्कृष्ट भएकाले त्यसलाई कार्यान्वयन गरे मात्र सर्वमान्य नेता गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा यस वर्षको जनआन्दोलन स्वर्ण पदक २०७३ बाट लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थमान डंगोललाई सम्मान गरिएको थियो ।