
संजिव कार्की
आदरणीय मदन भण्डारी ज्यू,
अभिवादन
जनताका प्रिय नेता ! आज तपाईको स्मृति दिवस, श्रद्दाले शिर झुकाउँछु, श्रद्दान्जली व्यक्त गर्दछु । तपाई र कमरेड जीवराजको आत्माको चीर शान्तिको कामना गर्छु । तपाईको पार्टीले पनि कर्मकाण्ड पुरा गर्न आज एक दिन सम्झेर तपाईको सराद्दे गर्छ, उसको त्यो बाध्यता हो । कारण, आज पनि मदन भण्डारीको नाम र बहुदलीय जनवादको कार्यक्रमप्रति जनताले विश्वास गर्छन् । मदन भण्डारीको आकर्षण आज पर्यन्त कम छैन तसर्थ तपाईको नाम लिनु र सम्झनु उसको विवसता हो । बाध्यता र विवसतामा सम्झनु र साच्चिकै सम्झनु फरक र नितान्त बेग्लै कुरा हुन् । जनता हृदयले सम्झन्छन्, श्रद्दा गर्छन्, यत्न साथ तपाईको नामलाई हृदयमा सजाउँछ्न्, त्यो उच्चकोटिको श्रद्दा हो, न्यानो स्नेह हो । पुर्व एमाले हालको नेकपा तपाईलाई यदाकदा सम्झन्छ, कारण तपाई नामको ब्याज खानु र सिद्धान्त बेच्नु उसको बाध्यता हो । तपाईले प्रतिपादन गरेको बहुदलीय जनवाद जनता ठग्ने भाँडो भएको छ । ब्यवहारमा जे गरे पनि देखावटी र बनावटी सिद्धान्तमा तपाईद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद उसको मुखौटो देखिन्छ, त्यसैले पनि तपाईको निधन भएको दिन उसलाई सम्झनुपर्ने बाध्यता र कारण हो । दुःखद र आश्चर्य यो लाग्छ, तपाईलाई जुन कारण र उद्देश्यले सम्झनु पर्ने हो त्यो सम्झैदैनन् तर केवल देखाउनका लागि सम्झना गर्छन् । सिद्धान्त प्रयोगमा सम्झदैनन्, तपाईको मृत्युको रहस्य खोतल्न सम्झदैनन्, तपाईको हत्या हो कि दुर्घटना त्यो अब बेमतलवको विषय बनिसक्यो, मात्र मदन भण्डारी सम्झना गर्छन् । तपाईको योगदान र बहुआयामिकतालाई अनुकरण गर्दैनन्, नाम लिन्छन्, काम गर्दैनन् ।
प्रिय कमरेड !
मैले दुखका साथ भन्नुपर्छ, स्वयं तपाईकी जीवन संगिनी यो देसको राष्ट्रपति बन्नु भएको छ, एक पटक होइन दुई–दुई पटक तर मदन भण्डारी हत्याको रहस्य खोज्न उहाँको मौनता पनि अचम्म लाग्दो छ । पहिलो कार्यकालमा संसदीय अस्थिरता थियो, कुनै पार्टीको बहुमत थिएन । सरकारलाई काम गर्ने वातावरण हुन्थेन सरकार गठन विघटन भैरहन्थ्यो । त्यतिबेला अप्ठ्यारो थियो । आज अनुकुल छ, कम्युनिस्ट पार्टीको झन्डै दुई तिहाईको कसैले हल्लाउन नसक्नेमात्रै होइन, हल्ला गर्न पनि नसक्ने सरकार छ । देशको कार्यकारी अधिकार केपी ओलीसँग छ, बिद्या भण्डारी महामहिम राष्ट्रपति हुनुहुन्छ । क्रान्तिकारी नेता प्रचण्ड नेकपाको दोश्रो अध्यक्ष भएर नेतृत्व गरिरहनुभएको छ, कसैले छेकबार लगाउने स्थिति छैन । कुनै तागत र शक्ति विपरीत भएर उभिने हयाउ राख्दैनन्, दरबार एक कुनामा लखेटिएर शक्तिहिन छ तथापि मदन भण्डारी र जीवराज आश्रित दासढुंगा घटना चासो सरोकार र छानबिनको बिषय बन्दैन किन ? जनता चासो र उत्सुकतापूर्वक हेरिरहेछन् ।
जनताका छोरा प्रिय नेता,
अनर्थ र आश्चर्य यो छ, विपक्षी पार्टी र जनता दासढुंगा घटनाको सत्य तथ्य खोज्न आतुर छन् र आवाज उठाउँछन् तर सत्ता जसले चाहे नहुने केहि छैन, ऊ चुपचाप छ । सुन्दैन आवाज, भन्दैन जवाफ । नेकपा एमालेले त्यतिबेला दासढुंगा घटना जाँचबुझ गर्न बनाएको आयोगको संयोजक स्वयं प्रधानमन्त्री बहाल हुनुहुन्छ र उहाँले त्यतिबेला बोलेको कुरा सबैको स्मृतिमा ताजै छ– ‘हामीले हत्यारा पत्ता लगाई सक्यौंं, हामी हत्याराको नजिक छौं, हाम्रो सरकार बनेपछि हामी कारबाही गर्छौ र तथ्य बाहिर देखाउछौं ।’
सरकारी आयोगको प्रतिवेदनले दुर्घटना या घटना प्रष्ट पार्न सकेन । जनता सरकारी आयोगप्रति विश्वस्त हुन् सकेनन् । यद्यपी दुर्घटना हो भन्न नसकेको कारण पनि सरकारी आयोगले षडयन्त्र हो भन्ने कुरामा आधार पैदा गरेको थियो । नागरिक तहबाट भनेर पदमरत्न तुलाधरको स्वतन्त्र छानबिन आयोग पनि बन्यो, उसले पनि यो नियोजित हत्या रहेको भन्यो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन शोकलाई शक्तिमा बदलौ भन्दै एमाले आन्दोलनमा गयो, दर्जन मानिस मारिए, एमालेले आफ्नो सरकार नहुदा हत्यारा पत्ता लगाउन सधै माग ग¥यो तर सम्माननीय प्रधानमन्त्री ओलीलाई सम्झाउन पर्ने भयो मदन भण्डारीको दुर्घटना पश्चात २०५१ सालदेखि एमालेको सत्तारोहण एक पटक गन्नुस्, यो अवधिमा नेकपा एमाले जति पटक सत्ता अरुले सयर गर्न पाएनन् । झन अहिले त सत्तासिन पार्टीले संविधान नै फेरेर आफ्नो अनुकुल कार्य गर्ने हैसियत राख्छ, यतिबेला पनि राष्ट्रपति, प्रधानमन्त्री , पार्टीका नेताहरु र कार्यकर्ता मदन भण्डारीको दासढुंगा दुर्घटना षडयन्त्र बारेमा जाँचबुझ र छानबिन आयोग बनाएर यथार्थ बाहिर ल्याउने कार्यलाई प्राथमिकता तोक्दैनन् । अब यतिबेला चित्त दुखेर नै तपाईमार्फत नेकपालाई सुनाउन यो पत्र कोर्दैछु । धेरैले सरकारलाई प्रश्न सोधे, मैले पनि विगत वर्षहरुमा बारम्बार लेखेँ– खै हत्यारा ? किन अनुसन्धान हुँदैन घटनाको भनेर ।
तर सुनिदिने कोही भएनन् । उल्टो किन सोधिस्, किन यस्तो लेख्नुपर्यो ? सरकार बिरोधी, पार्टीको आलोचक भनेर खेदे , लखेटे दपेटे । तपाईका पार्टी कार्यकर्ताले निन्दा गरे । भर्त्सना गरे त्यसैले बाध्य भएर स्वर्गबासी तपाई कै नाममा यो लेख्ने प्रयत्न गरेँ, अन्यथा नलिनुहोला ।
भण्डारी ज्यू,
पार्टीको यो हदको मौनतको अर्थ र गम्भीरता कतै पार्टीभित्र कै षडयन्त्रको शिकार तपाईहरु बन्नु भएको त हैन भनेर आशंका गर्दा यसको जवाफ कसले दिने ? हत्याको दोष गिरिजाप्रसाद कोइरालाले पनि पाएका थिए अब मरेर गएका कोइराला नै हत्यारा हुन् या त्यो दोष बोक्ने जिउदा नेता कोही छन् ? हत्यारा को हो ? भारत, अमेरिका, तत्कालिन दरवार ? जिउँदा नेता र तिनलाई लागेको आरोप पनि विस्मृतिमा छैनन् । हत्याको आरोपबाट स्वयं यहाँकी पत्नी विद्या र वर्तमान प्रधानमन्त्री अनि माधव नेपाल पनि आरोपित व्यक्ति हुन् । अब आफु अनुकुल सरकार आफै सरकारको कार्यकारी अधिकार र उच्च पदस्त पार्टीको पनि उच्चाधिकारी, अब सफाई दिनु पर्छ कि पर्दैन ? त्यो नैतिकता आजको आवश्यकता हो कि होइन ? बिध्या भण्डारी, केपी ओली र माधव नेपालले जवाफ कसरी दिनुहुन्छ ? कि तपाई स्वयं प्रकट भएर आफ्नो हत्याको बकपत्र गर्नुहुन्छ ? दासढुंगा घटनाका साक्षी अमर लामालाई २०६० साउन ११ गते कीर्तिपुरमा लगेर मदन भण्डारीको हत्यारा यहि हो भनी लखेटी लखेटी मार्न लगाउनेको नैतिकताले अपराधी खोज्ने हिम्मत गर्छ गर्दैन ? पार्टी कार्यकर्तासम्म चुप, मौन रहनुको रहस्य के हो ? किन बोल्दैनन् नेकपाका स्वाभिमान नेता कार्यकर्ता ? आफ्ना नेता मदन भण्डारी मारिनुको रहस्य थाहा पाउने स्वतन्त्रताबाट किन बन्चित छन् कार्यकर्ता ? देशको होनहार नेताको हत्या भएको २६औं बर्ष लाग्दा पनि जनतालाई सत्य सुसूचित गराउन किन कुनै पनि सरकारको हुतिगार हुँदैन ? जनता बिलखबन्धनमा छौं कमरेड ।
दुई तिहाईको बलियो सरकार यो सरकार पनि उदासिन बनेपछि त्यो अध्याय त्यो विगत अब केवल दुर्दान्त इतिहास मात्रै भनेर सम्झने कि बिर्सने ? उत्तरदायी शासकहरुले जवाफ दिनुपर्छ कि पर्दैन कमरेड ? तपार्इले कल्पना गर्नुभएको कम्युनिस्ट पार्टीको सरकार यस्तै अनुत्तरदायी अनुत्तरित जवाफ बोकेर बस्ने हुन्थ्यो र ? प्रश्नहरु सायद नहुनु पर्ने हो । आशंका ,संशय र विष्मय सबैको उत्तर जान्ने जनाभिलाषालाई नजरअन्दाज किमार्थ सह्य हुन्न । दासढुंगा दुर्घटनाका रचयिता को हुन् ? अमर लामा मार्नेले पनि स्पष्टिकरण दिनुपर्छ अन्यथा एकमात्र जीवित साक्षी गाडी चालक अमर लामालाई पनि सिध्याउनुको अर्थ यो घटना सामसुम पार्नु हो यसको प्रमाण नस्ट गर्नु हो, अनुसन्धानलाई प्रभावित पार्नु हो, नियत सफा नहुनु हो । यो घटना तिनले गराएको हुनुपर्छ जसले अमर लामालाई बाँच्न दिएनन्, सत्य बाहिरने डरले अमर लामाको हत्या भएको हो । देशीविदेशी सबै किसिमका शक्तिले लामालाई प्रयोग गरे र अन्त्यमा लामालाई पनि बाच्न नदिएर हत्या सधैको लागि रहस्यमय बनाइयो । हामी कसलाई सोध्न जाउँ कमरेडको हत्या कसले ग¥यो ? नेपाली राजनीतिको आकासमा छिटै उदाएर असमयमा अस्ताउने तपाई सम्भावना भएको नेता हुनुहुन्थ्यो । राजकीय सत्तामा परिक्षित हुन नपाए पनि आफ्नो प्रभाव र स्तर त्यतिबेला नै देखाउनु भएको हो । सानो मार्क्सवादी पार्टीको दोकान चलाएर बसेका अग्रज मनमोहनको सम्मान गरेर , आफ्नो दावी र पहुँचलाई छोडेर माले मार्क्सवादी एकीकरण हुदाँ सानो पार्टीका नेतालाई अग्रजको मर्यादामा राखेर अध्यक्ष बनाउनु अनि संसदीय दलमा विपक्षीको नेता पनि उहाँलाई नै चयन गराउनुले यहाँको क्षमता, ब्यवस्थापकीय कुशलता र फराकिलो छाती प्रदर्शन भएको थियो । मदन कति फराकिलो छाती र चौडा सोच भएका नेता रहेछन भन्नेकुरा अहिले एकीकरण गरेका पार्टी नेताहरुको ढुकुरे छातीसँग तुलना हुन सक्दैन । एक अर्काको नेतृत्व निर्वाध स्वीकार गर्न नसक्ने रविन्द्र उज्जल, मधेशबादी दलका छ जना साहु, केपी, प्रचण्ड, बाबुराम, उपेन्द्र सम्मलाई हेरौं । नेताले भोलिको सम्भावना र बृहत पार्टीहितलाई समझमा राखेर अरुको नेतृत्व स्वीकार्ने क्षमता देखाउनु पर्छ, जुन उदाहरण मदनले प्रस्तुत गर्नुभयो त्यो अनुकरणीय र बन्दनीय छ । त्यो आदर्श त्यो त्याग र त्यो निष्ठा अनि समर्पण देशले सधै गर्व गरिरहन्छ । यहाँको सरलता, ब्यवहारिक गुण र सिद्धान्तनिष्ठ समर्पण, संगत गरेका, आश्रय लिएका र आफ्नो भूमिगत जीवन व्यथित गरेका पुर्वाञ्चलका गाउँहरु, त्यहाँका बासिन्दाको अनुभव स्मृति पढ्दा, बुझ्दा थाहा लाग्छ । साहसी मदन, धेरै ट्याक्टटिसमा सिद्धस्त कहिल्यै प्रहरी फन्दामा नपर्ने, प्रहरी आमुन्ने सामुन्ने हुँदा विभिन्न उपाय र भेष परिवर्तन गरेर प्रहरीलाई छक्काउन खप्पिस र आफुमात्रै बच्ने, छलिने होइन कार्यकर्तालाई बचाउने र जोखिम आफु मोल्ने स्वभावको हुनुहुन्थ्यो भनेर धेरैले मुक्त कण्ठले प्रशंसा गरेको पाउँदा हर्ष लाग्छ । एक पाको अभिभावक र बच्चाको माउ पोथी झैँ कार्यकर्ताको संरक्षण गर्ने भनेर सम्झन्छन् आश्रय दिने मान्छेहरु । अनुशासनमा रहने, योग ध्यान र पढाई लेखाइमा सधै व्यस्त देखिने मदन आश्रयस्थलमा श्रम गरेर पनि सघाउनु हुन्थ्यो । बहुआयामिक व्यक्तित्वका धनी मदन भण्डारी नेपालका लागि अद्भुत कम्युनिस्ट थिए भनेर बुझ्ने गर्छन् अरु पार्टी र विपक्षले सधै । एकाएक उदाएर तत्कालिन लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नु कम आश्चर्यको कुरा थिएन । नेपालका कार्लमार्क्सको उपाधी पाएका मदन देसको अभूतपूर्व सेवा गर्न नपाई बिदा हुनुलाई हर नेपालीले आफ्नो दुर्भाग्य भनेर मान्छन् ।
प्रिय कमरेड, तपाईको दुर्घटनाको खबरले २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेको मात्रै हैन देशकै रक्तसंचारमा खलल पुगेको भान भएको थियो । मदन भण्डारी दुर्घटनामा परेको खबरले देसको आकास नै कालाम्य भएको थियो, दिनमै सुर्य अस्ताएको अनुभूति देशले गरेको थियो । जनताको कत्रो सम्मान माया र विश्वास रहेछ भन्नेकुरा तपाइको दुर्घटना देखि अन्तिम यात्रासम्मले बताउथ्यो । देशभक्त छोरो मर्दा देश नै रुदो रैछ, देशले नै बरखी बार्दो रैछ । देश शोकमा चुर्लुम्म डुबेर आफ्नो प्रिय नेता गुमाउनु पर्दा आहत थियो ।
विपक्षी पार्टीप्रति खरो सैदान्तिक आलोचना गर्नेतपाईको शब्द चयन बढो भव्य हुन्थ्यो, बौद्दिक तार्किक र धारिलो भाषण सुन्न पक्ष विपक्ष सबै लालायित हुन्थे । आरोपमा शिष्टता पनि झल्कन्थ्यो । सक्रिय राजतन्त्रको तीखो आलोचक भएर पनि मर्यादामा बस्ने राजासँग ठुलो विमति थिएन, फराकिलो वैमनस्यता पनि देखाउनु भएन तर प्रजातन्त्रप्रति गिद्दे नजर नलगाउन राजालाई खबरदारी गरिरहनु भयो । राजनीति नै गर्ने भए श्रीपेच फुकालेर आउनुस् मैदानमा भनेर राजालाई मर्यादासहित हाँक दिनु भयो, जुन आज सुन्दा पनि मजा लाग्छ । मार्क्सवादको ब्यवहारिक प्रयोगकर्ता र सिर्जनात्मक मार्क्सवादी ब्यख्याता मदन एकोहोरो जडसूत्रवादी दृष्टिकोण भन्दा पर रहेर सोच्ने नेता हो भन्ने वौद्धिक बुझाइ छ । आफुले कन्भिन्स गराउने या आफु कन्भिन्स हुने लचकता मदनमा रहेको अर्को दुर्लभ गुण हो । एमाले कांग्रेसको चरम द्वन्द्व र शत्रुता भएको बेला मलाई मन पर्ने राजनेता बिपी कोइराला हुन्, उनको जस्तो सिर्जनात्मक सोच र शैली भएको राजनेता मैले दक्षिण एशियामा देखेको छैन भनेर अन्तर्वार्ता दिनुलाई उद्दात्त छविका नेता भनेर सबैले प्रशंसा गर्छन् । भट्टराईलाई हराउँदा पनि दम्भ देखाउनु भएन भनेर आज सानो जितमा नै संसार जितेको दम्भ गर्ने नेताहरु देख्दा सबैले तपाईको त्यो शालीनता सम्झन्छन् । सत्ता र शक्तिको मातमा आज केपी जुन दम्भ प्रस्तुत गर्छन्, त्यो दम्भ एक देशको अभिभावकले गर्न सुहाउँछ कमरेड ? हेर्नुस् त देश हाक्ने नेता भएर केपी ओलीको लवज, अहं र अहंकार ।
साइकल चढ्ने मदन, सामान्य गाडीमा सवार भएको सबैले देखेकै कुरा हो, जीवनका लागि सिद्धान्त, सिद्धान्तका लागि जीवन हुन सक्तैन भनेर मार्क्सवादी दर्शनलाई नविनता दिने सिर्जनात्मक व्यक्तित्व तपाई हेर्नुस् त आजको नेकपा । शक्तिका लागि सिद्धान्त, सत्ता प्राप्तीका लागि सिद्धान्त भन्ने निस्कर्षमा छ । शक्ति आर्जन गर्न सत्ता प्राप्त गर्न जुनसुकै सिद्धान्त पनि प्रयोगमा उतार्ने पार्टी हो अहिले नेकपा जसको पुष्टि अस्ति युवा संघको कार्यक्रममा प्रचन्डले भनेका छन् । ‘यदि सिद्धान्तको माथा पच्चिमा लागेको भए पार्टी एकता सम्भव थिएन,’ पार्टी सिद्धान्तबिहिन भयो, यसको उपादेयता सत्तामात्र होइन सिद्धान्त पनि हो, हामी कुन सिद्धान्तको जगमा हिड्दै छौ त्यो स्पष्ट हुनुपर्छ अन्यथा तासको घरजस्तै हुनेछ पार्टी भन्ने इश्वर पोखरेलको जवाफमा प्रचण्ड बोलेका हुन् । यसलाई विडम्बना नै भन्नुपर्छ शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन सम्भव छ भनेर सिर्जनात्मक रुपमा मार्क्सवादको ब्याख्या गर्ने मदन भण्डारीको जनताको बुदलीय जनवादको प्रयोक्ता सशस्त्र युद्ध गर्ने, हजारौ मान्छेको नरबली चढाउने प्रचण्ड भएका छन् । यी सबै फेहरिस्तबाट तपाई जानकार नै हुनुहुन्छ ।
कमरेड मदन ,
तपाईको बहुदलीय जनवादको टालो कहिले महालक्ष्मी गोल्छाको धन पोको पार्न प्रयोग हुन्छ त कहिले दिपक मनांगेको भान्सा पुछ्न । अनि कहिले विष्णु पौडेलको नाक छोप्न । आजकल प्रचण्डको आँशु पुछ्न पनि प्रयोग भएको पाइन्छ । थाहा छ कमरेड ? आजकल कमरेडहरु गाउँ गाउँबाट उठ भन्ने गीतमा भन्दा कोमल ओलीको पोइल जान पाम भन्ने गीतमा नाच्न पोख्त हुनुहुन्छ । मोहनचन्द्रहरु सडकमा मागेर हिड्दा सुन तस्करहरु प्रधानमन्त्रीको बिदेश भ्रमणमा मस्त देखिन्छन् । कम्युनिस्टको सरकार छ तर बोक्सीको नाममा र पानी छोएको निहुमा मान्छे मारिने क्रम रोकिएको छैन, छाउपडी बस्दा बलात्कृत हुने, बिषालु सर्पद्वारा मारिने नियति उस्तैछ । यो समाजको कालो धब्बा खै कसले पखाल्छ होला र ? शिक्षा र स्वास्थ्यमा वर्ग भेद कस्तो छ त्यो बयान गरेर सकिन्न तर पनि कमरेडहरु जनताको सरकार भन्नुहुन्छ । न्याय किनेबेच हुन्छ जसको दलाली स्वयं कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पनि गर्छन् भन्दा लाजले मर्नु पर्ने स्थिति छ । कुरा चै समानता र बराबरीकै हुन्छ जोइ पोइ नै सांसद मन्त्री र पार्टीको उच्चाधिकारीहरु हुनुपर्ने कस्तो समानता हो कमरेड ?
मदन कमरेड, एकपटक तपाई नेपाल आएर भनिदिनुस्, कमरेड जीवराजलाई पनि साथमा नै ल्याउनुस्, तपाईहरुको हत्यारा को हो ? कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ र सत्ता कसरी संचालन गर्ने हो ? यतिबेला उषाकिरण र निशा कुसुम दुवैको तर्फबाट नातिनीहरु जन्मिएका छन्, आफ्ना दुई नतिनीहरुको मुख हेर्न र आशिर्वाद दिन पनि पृथ्वीलोकमा उत्रनुस् । सबै परिवार नै अहिले चमक धमकमा छन् । दुःखको लेष बाँकी छैन, छोरीहरुले पनि आफ्ना बाबाको धुलिल सम्झना ताजा राखून् । राष्ट्रपतिको सुख दुःख पनि हेर्नुस् । तपाईले भोगेजस्तो दुःख न तपाइको परिवारको छ न पार्टीका नेताहरुको । सबैको बर्ग उत्थान भएको छ, जनता पो उस्तै छन् तर नेता र तिनको वर्गीय समस्या त हल भैसक्यो नि । आखिर कम्युनिस्ट पार्टीको उद्देश्य वर्ग बिहिन समाज नभएर वर्ग उत्थान भएको छ । प्लिज कमरेड, एकपटक जनताको बहुदलीय जनवाद कस्तो भएछ आफ्नै आँखाले हेर्नुस् । आफ्नो हत्यारा आफै चिनाएर जानुस् नत्र सत्ताले हत्यारा कहिल्ल्यै भेट्दैन, कहिल्यै पक्रदैन र कहिल्यै भन्दैन– मदन भण्डारी कसले मारेको हो भनेर ।
भुलचुकमा क्षमा माग्छु
उही शुभेच्छुक
प्रतिक्रिया दिनुहोस्