१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


संविधानको भित्री विषयबस्तु जनताले बुझ्ने गरी प्रचार आवश्यक


0
Shares

काठमाडौं, बैशाख ८ ।  इलाममा आयोजित अन्तरकृयाका सहभागिहरुले संविधानको भित्री कुरा सर्वसाधारणले बुझ्ने गरी प्रचार गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन इलामले आठौं साधारण सभाको अवसरमा मंगलबार आयोजना गरेको संविधान कार्यान्यनमा पत्रकारको भुमिका विषयक अन्तर कृयामा बोल्दै दलका नेता, ट्रेडयुनियनकर्मी र पत्रकारका सस्थाका प्रतिनिधिहरुले संविधानको विषयमा गलत प्रचार गरी सर्वसाधारणलाई भड्काउने काम भएको भन्दै सो कुरा बताएका हुन् ।

नेपाल प्रेस युनियनकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारीले संविधानका व्यवस्थाहरुलाई गलत प्रचार गरेर तराईका सर्वसाधारणलाई भड्काउने काम भएको भन्दै भ्रम चिर्ने पत्रकारिता गर्नुपर्ने बताइन् ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले संविधानले गरेका व्यवस्थाको अपव्याख्या भएको प्रति चनाखो हुन पत्रकारलाई आग्रह गरे । उनले भने ‘सबैले भने जस्तो संविधान आएको छैन तर विग्रेको केहि छैन ।’

स्थानीय विकास अधिकारी मदन कोइरालाले संविधान ल्याउन एक ढिक्का भएको सञ्चार जगतले एक ढिक्का भएर कार्यान्वायनमा योगदान गर्नुपर्ने बताए ।

ट्रेड युनियन इलामका अध्यक्ष हरी फुयालले श्रमिक पत्रकारको अधिकारलाई सम्बोधन गर्न नसकेको संविधानको कार्यान्वायनमा पत्रकारको अहिले सम्मको भुमिका सम्मान योग्य रहेको बताए । उनले भने, ‘संविधानमा श्रम सम्बन्ध आयोगको मागलाई दलहरुले सुनेनन् तर पनि पत्रकारले सकारात्मक पहल गरिरहेका छन् ।’

नेपाली काङ्ग्रेसका सचिव खगेन्द्र देवानले यहि संविधानबाट सबैको अधिकार रक्षा गर्न सकिने भन्दै परिपक्व पत्रकारीताको आवश्यकता औल्याए ।

नेकपा माओवादीका इञ्चार्ज धिरेन्द्र शर्माले संविधानका सकारात्मक कुरालाई प्रचार गर्न आग्रह गरे । उनले  पत्रकारिता आचार संहितामा रहेर गर्नुपर्ने बताए । अहिलेको पत्रकारीता एकतर्फी बनेको भन्दै सुध्रिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका सस्थापक सभापती धर्म गौतमले अहिलेको पत्रकारिताले हिंसालाई न्युनिकरण गर्ने सामग्री प्रकाशन, प्रशारण गर्नुपर्ने बताए ।

शान्ति संचार सहकारी सस्थाका अध्यक्ष केदार थापाले संविधान कार्यान्वायनका लागि दलहरुको दह्रो एकता र सञ्चारको सकारात्मक पहल आवश्यकता रहेको बताए ।

सो अवसरमा नेपाली काङ्ग्रेसका इलाम नगर सभापती होम बस्नेत, पत्रकार महासंघका कोषाध्यक्ष खेम भुजेल, पत्रकार भिम चापागाई, युनियनका सस्थापक अध्यक्ष कुवेर निरौला, नेपाल विद्यार्थी संघका टिकाराम पुरी, युनियनकी केन्द्रिय सदस्य सुरक्षा रेग्मी, युनियनका सस्थापक सोमनाथ सुसेली लगायतले मन्तव्य राखेका थिए ।