२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सेनाको बिस्कुट खरिद प्रकरणः सबै पक्षसँग छलफल गर्ने समितिको निर्णय


0
Shares

काठमाडौं, वैशाख ७ । नेपाली सेनाको ‘हाइ इनर्जी’ बिस्कुट खरिद प्रकरण व्यवस्थापिका–संसदको समितिमा पनि पुगेको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको बिस्कुट खरिद प्रकरण सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै छलफल थालेको हो । समितिले मंगलबार रक्षा मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको हो ।

मंगलबार बसेको समितिको बैठकमा सहभागी रक्षा मन्त्रालयका अधिकारीको जवाफ चित्तबुझ्दो नभएको भन्दै रक्षा मन्त्रालय, नेपाली सेना, गुणस्तर तथा नापतौल विभागलगायत सम्बन्धित पक्षसँग थप छलफल गर्ने निर्णय समितिले गरेको छ ।

समिति सभापति भिष्मराज आङ्दम्बेले बिस्कुट खरिदमा पारदर्शीता र जवाफदेहीता देख्न चाहेको बताए ।

उनले खरिद प्रक्रिया सार्जजनिक खरिद ऐनअनुसार हुनुपर्नेमा समितिको ध्यानाकर्षण भएको बताए ।

बैठकमा रक्षा मन्त्रालयका अधिकारीहरुले सर्वोच्च अदालतमा विचाराधीन विषयमा समितिमा छलफल गर्न हुने वा नहुने प्रश्न गरेका थिए ।

उनीहरुले समितिले चाहेका सबै विषयमा जानकारी गराउन तयार रहेको बताएका थिए । उनीहरुले पशुपति बिस्कुटसँग सोझै सम्झौता गर्दा वार्षिक ४२ करोड रुपैयाँ नाफा हुने बताएका थिए ।

बैठकमा सांसदहरुबीच पनि अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न हुने/नहुने पक्षमा मत बाझिएको छ ।