
गोरखा, वैशाख ७ । बुढीगन्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र गोरखाका १४ ओटा गाउँ विकास समितिका भूकम्पपीडितले उचित मुआब्जा र स्थानान्तरणको माग गरेका छन् ।
बुढीगन्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति गोरखाले मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई ज्ञापनपत्र बुझाउँदै प्याकेजसहित पुनर्बास, मुआब्जा र पुनःस्थापना योजनाको तत्काल व्यवस्था गर्न माग गरेका हुन् ।
त्यस्तै, अधिग्रहण हुने जग्गाको मूल्य निर्धारण गर्ने निकायमा विस्थापित हुने जनताको प्रतिनिधित्वको व्यवस्था गर्न, आयोजनामा हुने राजनीतिक हस्तक्षेप बन्द गर्न, भागबन्डा रोक्न र भूमाफियालाई कारबाही गर्न उनीहरुले माग गरेका छन् ।
बुढीगन्डकी जलविद्युत् आयोजनाबाट गोरखाका करिब १४ गाविसका स्थानीय प्रभावित हुनेछन् । उक्त क्षेत्रको करिब ६० हजार रोपनी जग्गा किनबेच रोक्का गरिएको छ ।
प्रभावित विस्थापित क्षेत्रमा भूकम्पपछिको घर निर्माणका लागि दुई लाख नदिने हल्लाले पीडित थप चिन्तित बनेका छन् ।
दुई साताअघि जिल्ला प्रशासन कार्यालय गोरखाले तत्कालका लागि त्यस क्षेत्रमा जग्गा खरिद–बिक्री नगर्न सूचना निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्