
पाँचथर,वैशाख ६ । फिदिम घोषणा पत्र जारी गर्दै नेपाल प्रेस युनियनको मेची अञ्चल स्तरीय भेला आइतबार सकिएको छ ।
पाँचथरको सदरमुकाम फिदिममा सकिएको भेलाले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकार,सञ्चार गृह र सरोकारवाला पक्षलाई माग गर्ने र न्युनतम पारिश्रमिक लागू गराउन पनि माग गर्ने घोषणा पत्रमा उल्लेख छ ।
पत्रकारलाई नियुक्ति पत्र, परिचय पत्र दिएर काम गराउन, कान्तिपुर मिडिया ग्रुपको सम्वाददाता र समाचारदाताहरुको सरुवा सम्वन्धि निर्णय फिर्ता लिन, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन ,कृष्ण प्रसाद भट्टराईका सञ्चार प्रतिष्ठानको नाम परिबर्तन नगर्न र १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको तपोभूमी लब्रेकुटी, समाधिस्थल सिलौटी सहितका पूर्वका पर्यटकिय स्थलहरुको विकासका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको युनियनका पाँचथर उपाध्यक्ष जीतेन्द्र भण्डारीले जानकारी दिए ।
युनियनको भेलाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद भीष्मराज आङदेम्बेले उद्घाटन गरेका थिए । प्रेस युनियन केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयवावु सिवाकोटी, केन्द्रीय सदस्य सञ्जय कार्की र सुरक्षा रेग्मी सँगै मेची अञ्चल समन्वय समितिका संयोजक गोविन्दचन्द्र क्षेत्री सहितका पदाधिकारी तथा जिल्ला अध्यक्ष र केन्द्रीय पार्षदहरुको उपस्थिति रहेको युनियनका पाँचथर अध्यक्ष लक्ष्मी गौतमले बताए ।
सोही भेलामा ‘देवमान स्मृति पत्रकारिता पुरस्कार’ र ‘लोकमन स्मृति पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ । पहिलोपल्ट वितरण गरिएको ‘देवमान स्मृति पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका पाँचथर सम्बाददाता गिरिराज बाँस्कोटा र ‘लोकमन स्मृति पत्रकारिता पुरस्कार’ बाट नयाँ पत्रिका दैनिकका पाँचथर सम्वाददाता सरोज शर्मालाई पुरस्कृत गरिएको छ ।
‘देवमान स्मृति पत्रकारिता पुरस्कार’ नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ र उनको परिवारले आफ्ना स्वर्गिय पिताको नाममा स्थापना गरेका हुन ।
त्यस्तै ‘लोकमन स्मृति पत्रकारिता पुरस्कार’ भने नेपाली काग्रेस जिल्ला सदस्य छवि बाँस्कोटाले आफ्ना दिवंगत माता–पिता लोकनाथ बाँस्कोटा र माता मनमाया बाँस्कोटाको स्मृतिमा स्थापना गरेका हुन् । नेपाल प्रेस युनियन पाँचथर मार्फत् हरेक वर्ष वितरण हुने दुबै पुरस्कारको रासी ५ हजार ५ सय ५५ रुपैंयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्