
बेंग्लोर, वैशाख ६ । क्विन्टन डि ककको विस्फोटक ब्याटिङको मद्दतमा दिल्ली डेयर डेभिल्सले आइपिएलको जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बेंग्लोरलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले क्षेत्ररक्षण रोजेको दिल्लीले बेंग्लोरका ब्याट्सम्यानहरुलाई आफ्नो नियन्त्रणमा राख्न भने सकेन । परिणामस्वरुप बेंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९१ रनको विशाल योगफल बनाएको थियो ।
बेंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७९ रन बनाए भने एबी डे भिलियर्सले ५५ तथा शेन वाट्सनले ३३ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि प्रारम्भिक ब्याट्सम्यान डि ककले ५१ बलमा १०८ रनको शानदार पारी खेल्दै जितको आधार तयार पारिदिएका थिए । त्यस अतिरिक्त करुण नायरले ५४ रन बनाए ।
तीन खेल खेलेको दिल्लीले दुई जितका साथ अंक तालिकामा आफूलाई तेस्रो स्थानमा राख्न सफल भएको छ भने दुई खेलबाट एक जित हात पारेको रोयल च्यालेन्जर बेंग्लोर चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्