
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेसमा आन्दोलनरत् पक्षलाई संवादमा आउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले वार्ता र संवादमार्फत् सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने–‘लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन । लोकतन्त्रका विभिन्न आयाम हुने भएकाले अराजकता स्वीकार्य हुँदैन ।’
प्रधानमन्त्रीले चाडबाडका बेला जनताले मट्टीतेल नपाएको, जीवनरक्षक औषधि नभएको र मुलुक अघोषित नाकाबन्दीको चपेटामा परेको असाध्यै अप्ठ्यारो अवस्थामा सरकार गठन भइ ६ महिना पूरा गरेको बताए ।
‘राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको आन्दोलनमा आधाशताब्दी बिताएको र १४औं वर्ष जेल बसेको व्यक्ति कसरी विभेदकारी हुन सक्छ’ भन्दै प्रधानमन्त्रीले प्रश्न गरे ।
प्रधानमन्त्रीले जनताको मागअनुसार जारी भएको संविधानप्रति असन्तुष्टि रहे संशोधनका प्रक्रियाबाट सम्बोधन गर्न सकिने स्पस्ट पारे ।
राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य भएको भन्दै उनले तराई–मधेसको बन्द, हडताल र त्यसले देश र जनताको हितविपरीत पारेको प्रभावप्रति सचेत रहन आग्रह गरे ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही चैत २५ गते ६ महिना पूरा गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्