८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जिपबाट खसेर १३ वर्षीया बालिकाको मृत्यु


0
Shares

भीमदत्तनगर, चैत ३० । बझाङमा गुड्दै गरेको जिपबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बझाङको मोरीबगरबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको नम्बर नभएको नयाँ जिपबाट खसेर जयपृथ्वी नगरपालिकाकी १३ वर्षीया राजकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

स्थानीय मालुमेलाबाट तमैल जान चढेकी बालिकाले गन्तव्यमा पुगेपछि जिप रोक्न चालकलाई आग्रह गरेको र चालकले बेवास्ता गरेपछि जिपबाट झर्न खोज्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिको जिपबाट खसेपछि टाउकोमा गम्भीर चोट लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज आचार्यले जिप चालकको लापर्बाहीका कारण बालिकाको मृत्यु भएको बताउँदै चालक धनबहादुर बोहरालाई कारबाही गरिने जानकारी दिए । (रासस)