
काठमाडौं, चैत २४ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार भएको निर्वाचनमा देउवाले १३९ र उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे । निर्वाचनमा २०६ मत खसेको थियो ।
कांग्रेसका २०७ जना सांसदमध्ये नरहरि आचार्यबाहेक सबैले मतदान गरेका हुन् । आचार्य भने अस्वस्थताका कारण मतदानमा सहभागी हुन सकेनन् ।
तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेताका लागि निर्वाचन गरिएको हो । निर्वाचनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।
यसअघि, तत्कालीन सभापति कोइरालासँगको प्रतिस्पर्धामा देउवा पराजित भएका थिए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्