१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एमालेमा विवाद मिलाउन तीन सदस्यीय कार्यदल


0
Shares

काठमाडौं, चैत २३ । नेकपा एमालेका केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुंगो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो । गुरुङ संगठन र विष्ट मोर्चा संगठन विभागको प्रमुख हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकमा कार्यदलले विभागमा मनोनयनबारे मापदन्ड बनाइ प्रस्ताव प्रस्तुत गर्नेछ ।

कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ ।

यसअघि, स्थायी कमिटीको यसअघिको निर्देशन बमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव पोखरेलले प्रस्तुत गरेको मनोनयनसम्बन्धी प्रस्तावमा विवादका कारण निर्णय हुन सकेको थिएन ।

स्थायी कमिटीको बैठकपछि मंगलबारै पार्टीको पोलिटब्युरोको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको छ ।

यही चैत २७–३० मा काठमाडौंमा हुने केन्द्रीय कमिटीको बैठकको कार्यसूची पनि आजको बैठकले तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ ।

स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भएपनि विवादका कारण निर्णय भएको थिएन । रासस