९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मोदीजी बधाई छ तर नाकाबन्दी नगर्नुस प्लिज


0
Shares

-संजिव कार्की 

सातौं चरणको निर्वाचनको बेला गुफा बसेर ध्यानमा लिन भए मोदी । भगवान भाके अन्तिम चरणको भोट हुनु अघि निर्वाचन आयोगको स्वीकृतिमा योगी बनेर केदारनाथको शरणमा पुगे , ध्यानमा गए । मोदी बहुरुपी छन्, कठोर छन् र लचक छन् । मानवता देखाउँछन, मानवता भुल्छन पनि । हामी नेपाली चै मानवता नभएका मान्छे भनेर सम्झना गर्छौ । चाहे उनी विश्व विजेता नै किन नबनुन । सूर्यको ताप आगोको राप अप्ठ्यारो बेला पाइएन भने त्यो त्यसको धर्म भित्र पर्दैन । सुर्यको धर्म भनेको जाडोमा न्यानो दिनु हो । न्यानो नदिने सूर्य धर्मच्युत हो । त्यस्तै हुन् मोदी हाम्रो लागि पनि जसले भूकम्प बाढी पहिरोले आक्रान्त बनेको बेला नाकाबन्दी लगाएर आफ्नो छिमेकी प्रति बैगुन गरे ।  जतिबेला औषधी चाहिएको थियो त्यतिबेला रोकिदिए । औषधी पानी रोक्ने छिमेकीलाई हामी बधाई भन्छौ तर नाकाबन्दी पनि भुलेका छैनौ ।

पोहोर नेपाल आउँदा पनि त्यसै भन्यौ । हामी स्वागत गर्छौ आफ्नो छिमेकी पाहुनालाई तर नाकाबन्दी बिर्सेका छैनौ । रगत, आँसु, पसिना र करुणा मिश्रित मसीले हामी अभिनन्दन लेख्छौ, स्वागत भन्छौ भन्यौ आज उनको भारतमा महाविजय हुँदा हामी छिमेकी हुनुको नाताले हार्दिक बधाई र शुभकामना दिन्छौ ।  हार्दिक बधाई छ मोदीजी ! अझ तपाईको जितलाई हामी हाम्रो सुबिधा अनुकुल ब्याख्या र विश्लेषण गर्दैछौ । हामी नेपाली तपाईको जित यानेकी भारतीय जनता पार्टीको जीतमा नेपालमा विजय जुलुस गरेर तपाईको जयजय गर्दैछौ ।

हेर्नुस त हाम्रो चौडा छाती । कति उदार छौं हामी हिजोको त्यो अपमान त्यो ज्यादती त्यो अमानवीयता भुलेर आज पांच वर्ष पुग्दा नपुग्दै तपाईप्रति कृतज्ञ भएर नतमस्तक छौ । तपाईको जीतलाई आफ्नो सम्झेर गर्व गर्दैछौं । तपाईले भुलेर समेत त्यो निक्रिस्ट कर्मप्रति माफी माग्नु भएको छैन । कम्तिमा माफी त माग्नुपर्थ्यो यदि माफि माग्नु भएको भए तपाई भित्रको त्यो अमानवीयता हल्का हुन्थ्यो । हामी छिमेकी पनि माफी मागेपछि छिमेकी भएको नाताले पुग्न गएको घ्च्चापच्च्चा भनेर चित्त बुझाउथ्यौ । तर माफी र दुः खको कुनै शब्द हाम्रा लागि खर्च गर्नु भएन ।  तैपनि कत्रो उल्लास र हर्ष छ नेपालमा । कति हतार र तँछाड मछाड छ राजनीतिक पार्टीहरुमा तपाईलाई बधाई टक्र्याउन । आशिर्वाद थाप्न ।

तपाईलाई थाहा छ मोदीजी हामी हाम्रो बुता र सामर्थ्य भन्दा तपाईले दिने आशिर्वादले बलियो भएको महशुस गर्छौ । हुनत हामी तपाईहरु विशेष त भारतीय सत्तालाई गालीगलौज पनि मज्जैले गर्छौ । हाम्रो गालीगलौजको उदेश्य देशको भलाइको लागि त हुदैन र मिल्दैन । तर त्यो गालीगलौज प्रकारान्तारले आफ्नो र आफ्नाको भलाईमा अनुवाद गर्न माहिर छौ । सम्झनुस त भारतीय विस्तारवादको अन्त्यको लागि भनेर माओबादीले कत्रो आन्दोलन गर्यो कति मान्छे मारिए । तपाईहरुकै पाहुना भएर तपाई बिरुद्ध नै नारा लगाउने कस्तो चात्तुर्यता ? रोल्पा रुकुमतिर भारतीय बिस्तारबादसंग लडन सुरुंग पनि खनियो तर त्यो केवल ध्यान आफुतिर खिच्ने काइदा थियो । नजिक बन्ने बहाना र रणनीति थियो ।

१९५० को असमान सन्धि सम्झौता खारेजीको कत्रो नारा लाग्यो तर आज खै कहाँ हरायो त्यो नारा कति कार्यान्वयन भए आफु शक्तिशाली सरकारको हर्ताकर्ता हुँदा ? मोदीजी, तपाई माहिर हुनुहुन्छ नेपाल र नेपालीको मनोविज्ञान बुझ्न त्यसैले हाम्रो औकात र हैसियत अनुसार तपाई नेपाली नेताहरुलाई ब्यबहार गर्नुहुन्छ । फुर्क्याईदिनु हुन्छ, अग्लो बनाई दिनुहुन्छ अनि पछारी पनि दिनुहुन्छ । नेपाली हामी पनि चेत्दैनौ नेताहरु पनि चेत्दैनन कारण आज पनि हामी हिजो जति नै तपाई भारतसंग निर्भर छौं, जति पहिले थियौ ।  बरु हाम्रो परनिर्भरता बढेको छ घटेको छैन । आत्मनिर्भर केवल बोलीमा छौ, कल्पनामा छौ तर यथार्थमा अझै छैनौ । हामी दिलले चल्ने नेपाली दिमागले कमै चल्छौ । यदि दिमागले हामी चल्थ्यौ भने यो चार वर्षको अन्तरालमा आत्मनिर्भरताको बाटो पहिल्याउथ्यौ, मेहनत गर्थ्यौ, सरकारले पनि आत्मनिर्भर हुने लक्ष्य र बाटो तय गर्थ्यो तर हामीले बैदेशिक रोजगारलाई आयआर्जनको मूल श्रोत सम्झ्यौ आफ्नो बारी खेत बाँझो राखेर ।

भएको श्रमशक्ती, युवा शक्ति र बौद्दिक प्राबिधिक जनशक्ति बिदेश निर्यात गरेर तिनले पठाएको पसिना आँसु, मृत्यु र श्रमको रेमिटेन्समा देश चलाई रहेछौ । मोदीजी तपाईले लगाएको अमानवीय नाकाबन्दीले हामीलाई होस खुलाएन यदि हाम्रो होस खुलेको हुन्थ्यो । हाम्रो दिमागले काम गरेको हुन्थ्यो भने हाम्रो तपाईलाई जबाफ आत्मनिर्भरताको बाटो हिडेर हुन्थ्यो । आत्मनिर्भर हुने थुप्रै उपाय खोजेर हुन्थ्यो हामी भौतिक रुपमा टक्कर गर्न सक्दैनौ । तर नैतिक र चारित्रिक अनि कुटनीतिक रुपमा बलवान हुन् सक्थ्यौ । तर हामीलाई त्यो मेहनत, त्यो श्रम, त्यो स्वाभिमान, त्यो मर्यादा स्वीकार्य छैन । किनकी हामीसंग केवल दासमनोवृत्ति छ । तपाईको कज्याई नै प्रिय छ तपाईको नाकाबन्दी नै रुचिपूर्ण छ । तपाईलाई सराप्दै तपाइले नै पठाएको कुहिएको तरकारी, फलफूल र सागपात खान मजा छ ।

तपाईको देशमा कम्युनिस्ट अनिकालको बिउ भन्दा पनि गएगुज्रेको स्थितिमा छन् । तर अन्तर्राष्ट्रियवादी कम्युनिष्ट आफ्नो बंश र गोत्र सखाप पार्दा पनि तपाईको विजयलाई लिएर धुमधाम खुशी छन् । हामी नेपाली गज्जब छौ । उता राहुलको परम्परागत पारिवारिक सत्ताको बिरासत गुमेको छ । यता कांग्रेस पारिवारिक सत्ता र विरासतलाई अझै आफ्नो अभिस्ट र सपना ठान्छ । सम्पूर्ण हारको जिम्वेवारी आफुले लिंदै कांग्रेसको अध्यक्षबाट राजिनमा दिने राहुल गान्धीको घोषणा शेरबहादुर देउबाको कानलाई कस्तो लाग्यो होला ? कर्णप्रिय लाग्यो कि अप्रिय कटु लाग्यो होला ? त्यो अड्कलबाजी नेपालका कांग्रेसजनले गरुन । इतिहासको ब्याज खाएर सधै टिक्न सकिन्न बिपक्षी अलोकप्रिय हुँदैमा आफु बलियो भैदैन भन्ने चेत कांग्रेसलाई अझै पलाएको छैन । आफु बलियो भएर अरुलाई पछार्ने हो अरु कमजोर होलान अनि पछारौंला भन्ने सोच र ध्यान निकम्मा र परित्यक्त हो भन्नेकुरा बुझ्न नेपाल र नेपालीलाई अझै धेरै समय लाग्छ ।

सुनिदैछ तपाईको जितमा कमल थापाले पनि ठुलो राहत महशुस गरेर गाई ढोगेर शंख घण्टा धेरैबेर फुके रे । तर उनको त्यो प्रार्थना त्यो ध्यान जप आफ्नो स्वार्थको लागि हो । देशको लागि होइन । मोदीको भारतमा विजयले वरपर छिमेक सार्क र दक्षिण एसियामा सामान्य प्रभाव र प्रभुत्व त हुन्छ नै तर उसको बिदेशीनीति आजको भोली परिवर्तन सामान्य घटना र कारणले परिवर्तन हुँदैन भन्ने कुरा बुझ्न जरुरी हुन्छ । हामी मनको लड्डु छिटै खान्छौ ।

रमाउन ठुलो र महत्वपूर्ण कुरा चाहिन्न भारतमा मोदी नहारेपछि नेपालमा पनि केपी अर्को चुनावमा हार्दैनन भन्ने सत्ता मनोविज्ञानमा मस्त छौं । यतिबेला सत्तासिन पार्टीका नेता कार्यकर्ता अर्को चुनावको केपीको जीत् सुनिश्चित भनेर दंग छन् । कारण सत्तासिन हार्दैनन र हार्नु हुँदैन । बस यही मनोविज्ञानको मनोरञ्जन हामीलाई सित्तै प्राप्त छ त्यसैले हामी खुशी छौं सुखी छौ । आफुले उमारेको अन्न खानु भन्दा छिमेकी या अरु कसैले दिएको एकछाक हाम्रो लागि खुशी र सुखको विषय बन्छ । खासै दुःखी नहुने जात हो नेपाली । हिजो नाकाबन्दीको बेला ढुंगा कुटीकुटी मोदीलाई सरापेको बिर्सेर आज मोदीको विजयमा हर्षोल्लासका रमिरहेका रमाइरहेका छौ ।

मोदीले भारतमा त्यति कै चुनाव जितेका हैनन् होला उनका पनि कति गुण देशको लागि अपरिहार्य थियो । देशप्रतिको निष्ठा र आफ्नो नारा प्रतिको सैदान्तिक अडान, धर्मप्रतिको अटुट निष्ठा ,जनता प्रति इमान्दार, गठबन्धनप्रति समर्पण , निर्विकल्प नायक मोदी जित र निरन्तरताका कारण हुन् । राष्ट्रियता प्रतिको अविरल चिन्ता, पाकिस्तान आक्रमण गरेर जनतालाई आफ्नो राष्ट्रिय समर्पणको भाव राष्ट्रवादको नमुना प्रस्तुत गर्नु उनको जितको कारण हो । बिपक्षी निरन्तर स्खलनको बाटोमा रहनु नै मोदीको विकल्प अरु थिएन । तसर्थ चतुर मोदीले २०१४ को चुनावमा बिकासको नारा उराले अहिले राष्ट्रवादको नारा बिक्री गरेर जनताको सेन्टिमेन्ट आफ्नो पक्षमा ताने ।

राहुलको चौकीदार चोर है भन्ने भनाइको प्रतिवाद सबै भाजपाका उमेदवार देखि गठबन्धन सम्मका नेताले म पनि चौकीदार भनेर चुनौती दिए । जुन एकदम सकारात्मक हो । हामीकोमा यस्तो भनेको भए आरोपित गर्नेलाई भनिन्थ्यो त चोर, तेरो बाउ चोर, तेरो बाजे चोर ,तेरो सात पुस्ता नै चोर र चौकीदार तर चौकीदार नै चोर भन्ने आरोपलाई मोदीले कसरी निस्प्रभावी बनाई दिए ।  त्यो गुण गाली निस्तेज गर्ने कौशलता यताका गालीवाज नेता र कार्यकर्ताले सिक्दा कदापी नराम्रो हुन्थेन । यद्यपी, अति हिन्दुवादको नारा दिएर धर्म निरपेक्ष देशमा भारतीय जनता पार्टीको जित र विजयलाई अल्पसंख्यकहरुले खतराको घन्टी बजेको संकेतको रुपमा पनि परिभाषित गरेका छन । कट्टर हिन्दुत्वको उदयले कतै अल्पशंख्यक माथि दमनको नीति अंगिकार नगरोस । मानवता बिरोधी अपराधमा मोदी कलंकित नबनुन । भाजपाको स्वर्ण यूग भारतको स्वर्ण यूग बनोस । छिमेकी हुनुको नाताले छिमेकमा स्वर्ण यूगको प्रभाव नपरीरहन सक्दैन ।

भारतमा पुनः भारतीय जनता पार्टीको पूर्ण बहुमतको सरकार बन्न रोक्ने उपाय र तागत कसैसंग बाँकी छैन तर उता मोदीको विजयले नेपालमा हामी तरंगित र आत्मरतिमा लिन छौ । भारत आफनो स्पष्ट दृष्टिकोण सहितको बैदेशिक नीति भएको देश हो र स्थाई सरकारको रुपमा रहने कर्मचारीतन्त्र पनि सक्षम काविल र राष्ट्रहितमा एकदम समर्पित छ । हाम्रो देशका नेता र कर्मचारी झैँ २,४ छात्रवृत्ति, केहि थान एम्बुलेन्स, थोरै लोभ र पापको कारण आफ्नो विदेश नीतिमा तलमाथि या स्खलनमा पार्दैनन । भारतमा जसको सरकार बनेको भए पनि आफ्नो देशको सर्वोपरी हित र देशलाई दिने प्राथमिकतामा कतै कमि र सम्झौता गर्दैनन । तसर्थ नेपालका पार्टी र तिनका नेताले आफूअनुकुल हामीलाई यो फाइदा र यो बेफाइदाको हिसाबकिताब जोड्नु व्यर्थ छ । उनीहरु उनीहरुकै लागि काम गर्छन । हामी हाम्रा लागि काम गर्नुपर्छ । ठुलो र शक्तिशाली छिमेकी भएकोले हाम्रो भू संवेदनशीलतालाई ध्यानमा राखी उनीहरुको सहयोग व्यापक देश हित र बृहत्तर उपयोगका लागि प्रयोग गर्ने सिप र क्षमताको विकास गर्नुपर्छ । उनीहरुले उनीहरुका लागि सोच्छन हामीले हाम्रा लागि सोच्ने हो । यतिकुरा प्रस्ट छ उनीहरुले आफ्नो अहित हुनेगरी हाम्रो हितलाई प्राथमिकता दिदैनन ।

मोदी जितमा हामी यसकारण पनि प्रफुल्ल हुनुपर्छ अब मोदीसंग बदला लिने हो कुटनीतिक रुपमा । आफ्नो देशको उन्नति प्रगति गरेर त्यसको लागि उनलाई भरपुर उपयोग गर्नु पर्छ रिझाउनु पर्छ । मोदी रिझाउन उनलाई हाम्रा खोलानाला सम्पदा दिने हैन देखाउने हो । घुमाउने हो । उनी ठुला धार्मिक आस्थावान नेता हुन उनलाई धर्म संस्कृति, हाम्रा हिमाल पर्वत गुफा, मन्दिर गुम्बा, मस्दिजको सामिप्यतामा लैजानुपर्छ ।  हाम्रो हिमालयसंग मोदी लोभिन्छन । उनको त्यो लोभ हाम्रा लागि फायदाजनक छन् । हाम्रा पवित्र धार्मिक स्थलमा मोदीलाई सहृदय स्वागत गर्ने हो । अझ यो पटक बिजय भए पछी प्रधानमन्त्रीको सपथ खानु अघि या पछि यथाशक्य छिटो नेपालमा आउन पशुपतिको चन्दन लाउन । लुम्बिनी पुगेर बुद्द्भुमिको माटो स्पर्श गरुन । त्यो बातावरण र त्यो परिस्थिति निर्माण गर्न हाम्रा कुटनीतिक संयन्त्रहरु रातदिन परिचालित हुन । जसको सन्देश विश्वभर जाने छ । विश्वका मान्छेले नेपालको पशुपति र लुम्बिनीबारे अरु धेरै थाहा पाउने छन् ।

एउटा कुरा सत्य हो मोदी आफ्नो स्वार्थ र उदेश्य मात्र बोकेर हाम्रो धार्मिक स्थलम पाइला मात्रै हाले पनि हामीले त्यसबाट फाइदा लिन सक्छौ । धार्मिक पर्यटनको प्रचुर प्रचारप्रसार गर्न सक्छौ । पोहोर साल महामहिम मोदीको मुस्ताङको मुक्तिनाथ दर्शन र जानकी मन्दिर पूजाले भारतीय पर्यटकको उल्लेखनीय बृद्धिको भएको तथांक छ । तसर्थ मोदीको विजयलाई हामी हाम्रो अनुकुलतामा परिवर्तन गरौं । जति सक्दो धार्मिक र पर्यटकीय भ्रमणमा मोदीलाई लोभ्याउने कुटनीति तय गरौ । देश नीतिले बन्छ कुटनीतिले बन्छ । आफ्नो सभ्यता र संस्कृतिले चिनिन्छ ।

हामी हाम्रो सभ्यतामा गर्व गर्छौ भने सभ्य बनौं । देश एक्लै कसैले पनि बनाउन सक्दैन । तर सबै मिल्यौं भने हाम्रो देश बन्न बेर लाग्दैन । अपार सम्भावना र सामर्थ्य छ हामीसंग ।  हाम्रो पसिना श्रम र सीपले पराइ भुमि कहाँबाट कहा पुगिसक्यो । सराप्ने समय, श्रममा लगाउ नहुने के छ र ? अरुको जीत हार भन्दा ठुलो कुरा आफ्नै सबाल र समस्या महत्वपूर्ण हो । कतै हामी आफै हारिरहेका त छैनौ आफैसंग ?  फेरि हाम्रो ल्याकत हैसियत सामर्थ्य र स्वाभिमान जगाउन मोदीको नाकाबन्दीको प्रतीक्षा त गर्दै छैनौ ? यो प्रश्न प्रत्येक सचेत नेपाली र नेपाल सरकारले गहिरोसँग बोध गर्नुपर्छ । हामीलाई हाम्रो असलियत सम्झाईदिन अर्को नाकाबन्दी नै चाहिने हो र ?

नाकाबन्दी पछि हामीले के के सुधार गर्यौ ? भावनात्मक भएर केवल केहि थान स्वाभिमानका नारा मात्रै लगायौ कि आत्मनिर्भर हुने बाटो पनि हिड्यौ ? खै हाम्रो समिक्षा यो बीच केहि थान स्वाभिमानका नारा केहि थान, देश बनाउने सपना र केहि थान संकल्पका गफ भन्दा बढी भएनन् । हामी सप्रिएनौ भने मोदीले कुनै दिन नाकाबन्दी गरेर हाम्रो हैसियत सम्झाउने दिन देख्न नपरोस फेरि पनि शुभकामना महामहिम मोदीजी ।