
यज्ञराज पाण्डे (इमेज)
काठमाडौं, असार १७ । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पार्टीको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ ।
पहिलो–ओलीको राजीनामाबाहेकको विकल्प नदेख्ने, दोस्रो–आत्मालोचनासहित सच्चिने मौका दिने र तेस्रो–ओलीले कुनै हालतमा दुवै पदबाट राजीनामा गर्न नहुने मतहरु रहेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा चलेर स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको पाँचौं दिनको बैठकमा पाँचजना स्थायी समिति सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गर्दै राजीनामा मागे ।
मंगलबारको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए ।
शीर्ष नेताहरुले नै राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलबाजी सुरु भएको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भइसकेका छन् ।
पहिलो–ओलीले राजीनामा दिनुको विकल्प नदेख्ने, दोस्रो–आत्मालोचनासहित सच्चिने प्रतिबद्धता जनाए विकल्प नखोज्ने र तेस्रो–ओलीले कुनै हालतमा दुवै पदबाट राजीनामा गर्न नहुने ।
यी धारणामध्ये कुनचाहिँ कार्यान्वयनमा आउँछ भन्ने निर्क्योल स्थायी समितिको निर्णयले प्रष्ट पार्नसक्ने बताउनुहुन्छ, राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं ।
कतिपयले पार्टी नै विभाजनको संघारमा पुगेको बताइरहेका बेला ओलीपक्षका नेताहरुको अभिव्यक्ति र स्वयं ओलीको प्रस्तुतिमा नेकपाको भावी दिशा र भविष्य निर्भर रहने अड्कलबाजी र अनुमानहरु हुन थालेका छन् ।
सुरुमा तय भएका एजेन्डा छाडेर मंगलबारबाट थालिएको नयाँ एजेन्डाको बहसमा ४५ सदस्यीय स्थायी समितिमा आधाजसो सदस्यहरुले ओलीको राजीनामाबाहेक अन्य विकल्प नभएको बताइरहेका छन् ।
बिहीबारदेखि भने ओलीपक्षका सदस्यहरुले धारणा राख्नेक्रम पनि सुरु हुनेछ ।
आन्तरिक तयारीसमेत गरिरहेको ओलीपक्षले राजीनामा माग्नेहरुलाई ‘काउन्टर’ दिने निश्चित नै छ । जसको उदाहरण हो, बुधबार बिहान स्थायी समिति बैठक बस्नुअघि ओली र उनी निकटकाहरुको भेटघाट र छलफल ।
त्यसैले यसअघि बोल्ने नेताहरुका धारणा सुनेर यस्तो भइहाल्छ भन्ने अनुमान लगाउनु गलत र हतार हुने बताउनुहुन्छ, विश्लेषक डा. प्रसाईं ।
तर, दाहाल, नेपाल, वामदेव र खनाल समूहका नेताहरुले साढे दुई वर्षको अवधिमा ओलीको कार्यशैली चित्तबुझ्दो नभएको तथा पार्टी निर्णय कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेपनि त्यो ‘पानीको फोका’ बन्ने विश्वासमा ओलीपक्ष रहेको देखिन्छ ।
ओलीले आफ्ना निकटका नेताहरुलाई परिचालन गरेर आफूइतर रहेकाहरुलाई मनाउने प्रयास पनि कायमै राख्नुभएको छ ।
सचिवालय र स्थायी समितिमा स्पष्ट अल्पमतमा परिसकेका ओलीका लागि भने यसपटकको बैठक ठूलै खड्गो हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्