
बिराज रोस्यारा (इमेज)
कैलाली, असार २९ । प्रदेश नम्बर–७ को मन्त्रिपरिषद बैठकले प्रदेशको आकस्मिक कोष सन्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बिहान बसेको १६औं मन्त्रिपरिषदको बैठकले कार्यविधिमा स्वीकृति प्रदान गरेको हो ।
यसअघि नै प्रदेशसभाले प्रदेश आकस्मिक कोष पारित गरिसकेको छ । आकस्मिक कोषलाई पूर्णता दिन कार्यविधि बनाइएको हो ।
मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेपछि अब प्राकृतिक र गैरप्राकृतिक संकटमा राहत र उद्धारमा सहज हुने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले मापदन्ड बनाएर आकस्मिक कोष व्यवस्थापन गर्ने बताए ।
प्रदेश आर्थिक ऐनअन्तर्गत् रहेर प्रदेश आकस्मिक कोष तयार गरिएको हो । आर्थिक वर्ष २०७४/७५ मा कोषका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजनसमेत गरेको छ ।
मनसुन सक्रिय भएसँगै हुनसक्ने विपद्मा राहत र उद्धारका लागि कोष तयार गरिएको हो ।
प्रदेश आकस्मिक कोषको खाता नेपाल राष्ट्र बैंकमा रहने, प्रदेश लेखा नियन्त्रक र कोष व्यवस्थापन शाखा प्रमुखको हस्ताक्षरमा खाता सन्चालन हुनेसमेत शुक्रबारको प्रदेश–७ मन्त्रिपरिषद बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शाहले बताए ।
विपद् उद्धार र राहतका लागि कोषको रकम प्रयोग हुने भएको छ ।
विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन २०७४ अन्तर्गत् प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्