२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सुर्खेतका विद्यालयले सुरु गरे ‘कन्ट्याक्ट कक्षा’, आलोपालोमा सिमित विद्यार्थी बोलाइने


52
Shares

– मानबहादुुर वली/इमेज
सुर्खेत । सुर्खेतमा लकडाउन भएपछि बन्द भएका धेरै शैक्षिक संस्थाहरु अझै खुल्न सकेका छैनन् । केही शहरी क्षेत्रका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन सुरु गरेका छन् । तर, सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले भने सामाजिक दूरी कायम गर्दे नियमित पठनपाठन सुरु गरेको छ ।

सुर्खेतको अमर ज्योती नमूना माध्यमिक विद्यालयले ३ महिनापछि स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै नियमित पठनपाठन सुरु गरेको छ । लकडाउनबाट आजित विद्यार्थीहरु सामाजिक दूरी कायम गरेर भए पनि शिक्षण सिकाइलाई निरन्तरता दिन पाउँदा धेरै खुशी भएका छन् । लामो समय स्कूल बन्द हुँदा विद्यार्थीहरुलाई पट्यार लागिरहेका बेला सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गरीएको हो ।

विद्यार्थीलाई आलोपालो प्रणालीमार्फत नियमित कक्षा सञ्चालनसँगै रेडियो, टेलिभिजन र भर्चुअल माध्यमबाटसमेत शिक्षण सिकाइलाई निरन्तरता दिएको विद्यालयका शिक्षक धुव्रकुमार अधिकारीले बताउनुभयो । स्वास्थ्य सुरक्षासँगै सतर्कता अपनाएर एउटा बेन्चमा एकजना र करीब २ मिटरको दूरी कायम हुनेगरी आलोपालो प्रणालि मार्फत परीक्षणका रुपमा पढाइ सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताउनुभयो ।

कर्णालीका करिब तीस हजार बालबालिकाहरु रेडियो, टेलिभिजन र अनलाइनको पहुँच बाहिर रहेको शिक्षा क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनले गरेको अध्ययनले देखाएको छ । बन्दाबन्दीको ३ महिनापछि अधिकांश शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन सुरु गरेपनि सुर्खेतकै अमर ज्योति नमूना माध्यमिक विद्यालयले भने कोरोना सन्त्रासकै वीच कन्ट्याक कक्षा मार्फत सातामा एक दिन भएपनि प्रत्यक्ष कक्षा सञ्चालन गरेर विद्यार्थीको शिक्षण सिकाइलाई निरन्तरता दिनुलाई सकारात्मक दृष्टिकोणबाट हेर्न सकिन्छ । (हेर्नुहोस् भिडियो)