१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पहिले राजा वीरेन्द्रको नाममा रहेको भवन, अहिले लागुऔषध दुर्व्यसनीको अखडा (भिडियो)


2.301k
Shares

गृष्मा राजभण्डारी र देवेन्द्र महर्जन (इमेज)

काठमाडौं, असार १९ । काठमाडौंमा सडकलाई आश्रय बनाएर बसेका तथा विभिन्न दुर्व्यसनीमा फसेका बालबालिकाहरुको उद्धार अभियान फेरि सुरु गरिएको छ ।

अभियानकै कारण सडक बालबालिकाको संख्यामा ठूलो कमी आएको उद्धारमा सक्रिय बालबालिका खोजतलास समन्वय केन्द्रको दाबी छ ।

काठमाडौंको कमलादीमा कुनैबेला राजा वीरेन्द्रको नाममा रहेको एक भवन पछिल्लो समय भने लागुऔषध दुर्व्यसनीहरुको अखडा बनेको छ ।

कुलतमा लागेकाहरुले यही भवनलाई आश्रय थलोको रुपमा प्रयोग गर्दै आएका छन् ।

लागुऔषध सेवन गरी यही भवनमा बस्ने युवा–युवतीको जमातका कारण बस्तीको वातावरणमै असर परेको गुनासो बढेपछि राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले सो भवनमा शुक्रबार बिहान छापा मारेको छ । छापा मारेर केही दुर्व्यसनीलाई नियन्त्रणमा लिइएको छ ।

केहीले भने नजिकैको खोलामा हामफालेर भाग्ने कोसिससमेत गरेका थिए । दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरे ।

परिषद् र केन्द्रको संयुक्त टोलीले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल, सोह्रखुट्टे आसपासबाट गैरकानुनी क्रियाकलापमा संलग्न ११ जनालाईसमेत नियन्त्रणमा लिएको छ ।

यसरी नियन्त्रणमा लिइएकाहरुमा ठमेलमा वर्षौंदेखि गुन्डागर्दी गर्दै आएका दुईजनासमेत छन् । चोरी–डकैतीसमेत गर्ने यिनीहरुले प्रहरीलाईसमेत पटक–पटक आक्रमण गरी भाग्दै आएका थिए ।

नियन्त्रणमा लिइएकाहरुलाई १४ दिन ‘होम क्वारेन्टिन’मा राख्ने व्यवस्थासमेत मिलाइएको छ ।

२०७३ सालदेखि सडक बालबालिका र लागुऔषध दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिइ सडकमा बेथिति र विसंगति हटाउने प्रयासस्वरुप चालिएको यो अभियान कोरोना महामारीका कारण रोकिएको थियो ।

तर, अब फेरि सुरु गरिएको बालबालिका खोजतलास समन्वय केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।

बालबालिका खोजतलास समन्वय केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्ले काठमाडौंका विभिन्न सडकमा बालबालिकाको उद्धार गरेका कारण ३० प्रतिशत सडक बालबालिकामा कमी आएको बताइन्छ ।

भिडियो हेर्नुहोस्