२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


छातीमा हात राखौं र सोचौं : नारायणकाजी


0
Shares

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलो उत्कर्षमा छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग ओलीइतरहरुले गरेका छन् । ओली दुवै पद नछोड्ने अडानमा हुनुहुन्छ ।

नेकपाभित्रको संघर्षले पार्टी विभाजनसम्म हुनसक्ने अनुमान र आँकलनले यतिबेला राजनीतिक वृत्त थप तातेको छ ।

यही गरमागरमबीच नेकपाका विभिन्न नेताहरुले आफ्ना धारणा सामाजिक सञ्जालमा पनि व्यक्त गरिरहेका छन् ।

नेताहरु बैठककक्षमा बसेर एकर्काका कुरा सुन्छन् । आफ्ना भनाइहरु बाहिरपनि सार्वजनिक गर्छन् । असन्तुलित घटनाक्रम मत्थर होस् भन्ने उनीहरुले त्यसरी पोखेका विचारमा व्यक्त भएको पाइन्छ ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार एक ट्वीट गर्नुभएको छ ।

ट्वीटमा उहाँले पार्टीभित्रको संघर्ष कुनै व्यक्ति वा स्वार्थकेन्द्रित हुननहुने बताउनुभएको छ ।

पार्टी एकता, देश, जनतालाई केन्द्रविन्दुमा राखेर बहसमा सहभागी हुनुपर्नेमा उहाँको जोड छ ।

उहाँले लेख्नुभएको छ–‘पार्टीभित्रको अन्तरसंघर्ष कुनै व्यक्ति वा व्यक्तिहरुको स्वार्थकेन्द्रित हुनुहुँदैन । त्यसैले एउटा वा अर्को व्यक्तिको समर्थन वा विरोधमा होइन, पार्टी एकता, समृद्धि, समाजवाद, देश, जनता र श्रमजीवीवर्गलाई केन्द्रविन्दुमा राखेर रुपान्तरणमुखी बहसमा सहभागी होऔं । छातीमा हात राखौं र सोचौं ।’