
काठमाडौं, असार १९ । नेपालमा थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व तथा सातौं संघनायक धम्माचरिय अग्गमहापण्डित भिक्षु डा. ज्ञानपूर्णिक महास्थवीरको शुक्रबार निधन भएको छ ।
अग्गमहा सदम्मज्योतिकध्वज भिक्षुको ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४ः३५ बजे ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो ।
मिगौलासम्बन्धी रोगबाट पीडित उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको थियो ।
उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गराउनका लागि नयाँबानेश्वरस्थित विश्व शान्ति बिहारमा राखिएको छ ।
उहाँलाई श्रद्धाञ्जलि दिन विभिन्न बौद्ध संघ–संस्थाका बौद्ध भिक्षु, भिक्षुणी, प्रतिनिधि, उपासक उपासिका, दलका नेता, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि विहारमा गइरहेका छन् ।
आउँदो आइतबार गुरुपूर्णिमाको दिन शंखमूलस्थित घाटमा उहाँको दाहसंस्कार गरिने अखिल नेपाल भिक्षु महासंघद्धले जनाएको छ ।
भिक्षु ज्ञानपूर्णिकलाई बौद्ध जगतमा अभिधम्मको अध्येयता र कुशल व्याख्याताका रुपमा लिइन्छ ।
बुद्धधर्मसम्बन्धी दजनौं ग्रन्थको नेपाल भाषा, नेपाली र अंग्रेजी भाषामा अनुवाद उहाँले गर्नुभएको छ ।
वि.सं. १९९६ मंसिर ६ गतेका दिन पाल्पा, तानसेनमा बुवा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराको रुपमा जन्मिनुभएको थियो ।
भिक्षु हुनुभन्दाअघि उहाँको नाम हिरालाल शाक्य थियो ।
उहाँ महास्थवीर लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीका संरक्षक र संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
को हुन् भिक्षु डा. ज्ञानपूर्णिक ?
तानसेनको टक्सारस्थित शील पाठशालामा प्रारम्भिक शिक्षा अध्ययन गर्नुभएका हिरालाल शाक्यलाई उहाँको आमा चन्द्रमायाले ११ वर्षको बाल्य अवस्थामै भिक्षु बनाउनका लागि पूज्यपाद भिक्षु बुद्धघोष महास्थविर (नेपालका पाँचौं संघनायक)लाई आफ्नो छोरा अर्पण गर्नुभएको थियो ।
श्रद्धेय बुद्धघोष महास्थविरको छत्रछायामा रही हिरालालले बुद्ध शिक्षा र पालि भाषाको प्रारम्भिक ज्ञान लिनुभयो ।
नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरणपश्चात् पहिलो थेरवादी भिक्षु महाप्रज्ञा, प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द, आचार्य भिक्षु अमृतानन्दजस्ता वरिष्ठ भिक्षुहरुको प्रेरणा उहाँलाई प्राप्त भयो ।
भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासले १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उहाँ भारत हुँदै बर्मा पुग्नुभयो ।
सन् १९५६ अगष्ट १५ का दिन बर्माका सुप्रसिद्ध अग्गमहापण्डित भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दिक्षा लिनुभइ हिरालाल शाक्य श्रामणेर ज्ञानपूर्णिकको नामबाट बुद्धशासनमा प्रवेश गर्नुभयो ।
त्यसपश्चात् बर्मामा रही गुरुकुल परम्परामा धार्मिक शिक्षा अध्ययन गर्दा–गर्दै सन् १९५९ अप्रिल १२ का दिन २० वर्षको उमेरमा अभिधज राष्ट्रगुरु श्रद्धेय सयादो सुरियाभिवंश महास्थविरको उपाध्यायत्वमा उहाँले भिक्षु उपसम्पदाको दिक्षा लिनुभयो ।
बर्मामा ११ वर्षसम्म निरन्तर रहनुभइ उहाँले सन् १९६३ मा शासनधज धम्माचरिय उपाधि प्राप्त गर्नुभयो ।
बर्माको इतिहासमा यसरी सरकारी पालि शिक्षामा धम्माचरिय प्राप्त गर्ने प्रथम विदेशी व्यक्तित्व भिक्षु ज्ञानपूर्णिक हुनुहुन्थ्यो ।
बुद्धधर्मको उच्च अध्ययनपश्चात् उहाँले विश्व प्रसिद्ध विपश्यनाचार्य श्रद्धेय भिक्षु शोभन महास्थविरको छत्रछायामा रही विपश्यना ध्यानको ज्ञान सिक्नुभयो ।
बर्मामा अध्ययनपछि उहाँले पुनः भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातक गर्नुभयो ।
पछि उहाँ पुनः नेपाल फर्कनुभयो र पाटनस्थित सुमंगल विहारमा बस्दा–बस्दै त्रिविको स्नातकोत्तरसम्म अध्ययन गर्नुभयो ।
उहाँ एक कुशल धर्म प्रचारक, ग्रन्थकार, प्रकाण्ड विद्वान्, कुशल धर्म प्रवचक तथा भाषानुवादकको रुपमा समेत परिचित हुनुभयो ।
नेपालभाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मी गरी सात भाषाका ज्ञाताका रुपमा उहाँले बुद्धशासनिक काममा आफ्नो जीवन समर्पण गर्नुभयो ।
नेपालको भिक्षुसंघको छाता संगठन अखिल नेपाल भिक्षु महासंघमा पनि उहाँले विभिन्न पदमा रही सेवा र योगदान पुर्याउनुभयो ।
उहाँको बुद्धशासनिक व्यक्तित्व कृतित्व तथा योगदानको कदर गर्दै म्यानमारको विपश्यना केन्द्रबाट उहाँलाई कर्मस्थानाचार्य उपाधिबाट विभूषित गरियो ।
सन् २००१ मा म्यानमार सरकारको तर्फबाट उहाँ अग्गमहासद्धम्मजोतिकधज धार्मिक पदबाट साथै सन् २०१३ मा अग्गमहापण्डितको उच्च धार्मिक पदबाट सम्मानित हुनुभएको छ ।
बुद्धशासनिक व्यक्तित्वको रुपमा उपसम्पदाको ५० वर्षको स्वर्णदिवसको उपलक्ष्यमा नेपाली बौद्ध जगतका थुप्रै संघ–संस्थाको संयुक्त आयोजनामा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको तर्फबाट उहाँलाई नागरिक अभिनन्दनसमेत गरिएको थियो ।
नेपालको बुद्ध, बुद्धधर्म, बौद्ध शिक्षा एवं संस्कृतिको उत्थानको निमित्त आफ्नो जीवन समर्पण गर्दै आउनुभएको उहाँ नेपालमा प्रवजितहरुको दक्ष जनशक्ति र संघ विस्तारमा निरन्तर लाग्नुभयो ।
नेपालको बुद्धशासनमा संघ उपनायक पदको जिम्मेवारीमा रहनुभएका उहाँ छैटौं संघनायक श्रद्धेय भिक्षु अश्वघोष महास्थविरको देहावसानपश्चात् वि.सं. २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायकको रुपमा पदासीन हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्